चौधरी ग्रुप र बिकाजी फुड्सबीच रणनीतिक साझेदारी

काठमाडौं । चौधरी ग्रुप (सीजी) र भारतको अग्रणी एफएमसीजी ब्रान्ड बिकाजी फुड्स इन्टरनेशनल लिमिटेडबीच ५०-५० प्रतिशत स्वामित्वमा रणनीतिक साझेदारी भएको छ । यस सहकार्यबाट अब नेपाली बजारमै बिकाजीका भुजिया, नमकिन, पापड, मिठाईजस्ता परिकारहरू उत्पादन हुने छन्  । दुवै कम्पनीले नेपालमै अत्याधुनिक प्रविधियुक्त उत्पादन र प्याकेजिङ इकाई निर्माण गर्ने गरी संयुक्त लगानी गर्नेछन् । सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीका अनुसार यो साझेदारी केवल व्यापारिक सम्भावनामा सीमित नभई देशको आपूर्ति शृङ्खला, रोजगारी र खाद्य स्वावलम्बनको दिशामा महत्वपूर्ण पाइला हुनेछ । ‘हामी भारतका विभिन्न स्वाद र परिकारहरूलाई नेपाली उपभोक्ताको दैनिकीमा सहज रूपमा समावेश गर्न चाहन्छौं’ उनले भने । साथै उनले नेपाली बजारमा अन्तर्राष्ट्रिय स्तरका ब्रान्डहरूमार्फत उपभोक्तालाई थप विकल्प र गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य रहेको स्पष्ट पारे । बिकाजी फुड्स इन्टरनेशनलका प्रबन्ध निर्देशक दीपक अग्रवालले नेपाललाई रणनीतिक बजारका रूपमा लिँदै साझेदारीलाई आफ्नो ब्रान्डको विश्वव्यापी विस्तार यात्राको महत्वपूर्ण हिस्सा बताएका छन् । ‘सीजीसँगको साझेदारीले हामीलाई नेपाली बजारमा मात्र होइन, सम्पूर्ण दक्षिण एसियाली क्षेत्रमै स्थापित हुन सहयोग पुर्‍याउनेछ’ अग्रवालले भने । उनका अनुसार यस साझेदारीबाट समुदाय सशक्तीकरण, स्थानीय उत्पादन क्षमताको विकास, आपूर्ति शृङ्खलाको मजबुतीकरण र समग्र खाद्य प्रणालीमा सुधारको लक्ष्य लिइएको छ ।

नेपालको एफएमसीजी बजार हाल तीव्र रुपमा विस्तार भइरहेको छ । करिब ३ करोड जनसंख्या रहेको नेपालमा शहरीकरण र उपभोक्ताको आम्दानी वृद्धि संगै प्याकेज्ड फुड्स तथा सजिलो उपभोग्य वस्तुप्रति झुकाव बढ्दो छ । विभिन्न अध्ययनहरू अनुसार नेपालमा एफएमसीजीको बजार अहिले १ अर्ब अमेरिकी डलरभन्दा माथि पुगेको छ र वार्षिक रूपमा २० प्रतिशतभन्दा बढी दरले वृद्धि भइरहेको छ । यस्तै सम्भावनापूर्ण बजारमा बिकाजीको उत्पादन विशेषज्ञता र सीजीको स्थानीय दक्षताको संयोजनले नयाँ उचाइ लिने अपेक्षा गरिएको छ । नयाँ संयोजनअन्तर्गत नेपालमै निर्माण हुने उत्पादन एकातर्फ गुणस्तरमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नेछ भने अर्कोतर्फ नेपाली स्वाद र संस्कृति अनुरूपका परिकारहरू बजारमा ल्याउनेछ । यसले रोजगारी सिर्जनासँगै घरेलु कच्चा पदार्थको प्रयोगमा जोड दिँदै स्थानीय उद्यमशीलतालाई प्रवर्द्धन गर्नेछ । साथै, निकट भविष्यमा नेपालबाट छिमेकी मुलुकहरूतर्फ खाद्य निर्यात प्रवर्द्धन गर्ने दीर्घकालीन लक्ष्य रहेको सीजीले जनाएको छ । यो सहकार्य सीजीको दीर्घकालीन व्यापार रणनीतिसँग पनि मेल खान्छ । बहुराष्ट्रिय कम्पनीका रूपमा परिचित चौधरी ग्रुपले हालसम्म ३५ देशमा २०० भन्दा बढी कम्पनी सञ्चालनमा ल्याइसकेको छ । ‘वाईवाई’ नूडल्सका लागि विश्वभर लोकप्रिय यस समूहको सक्रियता खाद्य, आतिथ्य, शिक्षा, पूर्वाधार, अटोमोबाइल र वित्तीय क्षेत्रसम्म फैलिएको छ । उता, भारतको बिकानेरमा मुख्यालय रहेको बिकाजी फुड्स इन्टरनेशनल लिमिटेड १९९३ मा स्थापना भएको कम्पनी हो । भारतको तेस्रो ठूलो स्न्याक्स कम्पनीका रूपमा परिचित यो ब्रान्डले आफ्ना उत्पादनहरू २५ भन्दा बढी देशमा निर्यात गर्दै आएको छ । भुजिया, नमकिन, मिठाई, पापड, फ्रोजन फुड्सजस्ता विभिन्न प्रकारका परिकारमा यस कम्पनीको दक्षता रहेको छ, जुन करोडौं उपभोक्ताको रोजाइमा पर्ने गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *