लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको ध्यये नै जनताको आवाज सुन्ने हो- राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको ध्यये नै जनताको आवाज सुन्ने, चाहना पूरा गर्ने र सुशासनको माध्यमबाट आर्थिक रूपमा समृद्ध नेपाल निर्माण गर्ने रहेको बताएका छन् । 

राष्ट्रिय विभूति भीमसेन थापाको २५१औँ जयन्तीको अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यही शासन प्रणालीबाट नै हामीले हाम्रा पूर्खा र इतिहासले सुम्पिएको दायित्व पूरा गर्न सक्ने छौँ भने ।  उनले भने–“इतिहासका अनेकौँ कालखण्डबाट गुज्रँदै हाम्रो देश अहिले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणाली अङ्गालेर अघि बढ्दैछ । वास्तवमा यो शासन प्रणालीको ध्येय भनेको जनताको आवाज सुन्ने, जनताको चाहना पूरा गर्ने र सुशासनको माध्यमबाट आर्थिक रूपमा समृद्ध नेपाल निर्माण गर्ने नै हो । यसबाट नै हामीले हाम्रा पूर्खा र इतिहासले सुम्पिएको दायित्व पूरा गर्न सक्छौँ । हामी सबैको ध्यान त्यसतर्फ केन्द्रित होस् भन्न चाहन्छु ।’

राष्ट्रपति पौडेलले षड्यन्त्रै षड्यन्त्रको अभिशप्त इतिहासलाई बदल्नुपर्ने सोचसहित आफूले लेख लेखेको स्मरण गर्दै भने– “हामी अहिले अभिशप्त इतिहास बदलेर एउटा निष्कपट, खुला र उन्नतशील समाजबाट नेपाललाई डोर्‍याउन कटिबद्ध छौँ । त्यसैले निराश हुन जरूरी छैन ।”

राष्ट्रपति पौडेलले इतिहासको जगमा वर्तमान खडा हुने भन्दै वर्तमानको जगमा भविष्यको आधारशीला तय हुने भएकाले वीर पूर्खाहरूको त्याग, बलिदान र बुद्धिमत्तापूर्ण कार्यबाट नै अहिले हामी यहाँसम्म आइपुगेको स्पष्ट पारे। उनले मुलुकको सार्वभौमसत्ता राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षाको खातिर आफ्नो जीवनको आहुति दिएका राष्ट्रिय विभूति भीमसेन थापा नेपालको इतिहासमा उच्चकोटिका राजनीतिज्ञ भएको पनि बताए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *