एनआईसी एसिया बैंकद्वारा ८.१७ प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा योजना सार्वजनिक
काठमाडौं । एनआईसी एसिया बैंकले सेयर धितो राखेर कर्जा लिन चाहने ग्राहकका लागि प्रतिस्पर्धी ब्याजदरमा कर्जा योजना सार्वजनिक गरेको छ । ‘एनआईसी एसिया अथट लोन अगेन्स्ट सेयर’ नाम दिइएको यो योजनाअन्तर्गत ग्राहकले ८.१७ प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा लिन सक्नेछन् । बैंकको औसत आधार दरमा एक प्रतिशत प्रिमियम थप गरी यो ब्याजदर निर्धारण गरिएको हो । सेयर बजारलाई अर्थतन्त्रको महत्त्वपूर्ण खम्बाका रूपमा लिँदै, बैंकले समसामयिक आवश्यकता, बजारको माग र ग्राहकको सुविधालाई प्राथमिकतामा राखेर यो योजना ल्याएको बैंकले जनाएको छ ।
योजनाअन्तर्गत ग्राहकले नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत बैंक, वित्तीय संस्था, बिमा कम्पनी लगायतका अन्य कम्पनीहरूको साधारण सेयर धितो राखेर कर्जा प्राप्त गर्न सक्नेछन् । कर्जा रकम निर्धारण गर्दा ग्राहकले धितो राखेको सेयरको पछिल्लो कारोबार मूल्य वा १८० दिनको औसत मूल्यमध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था गरिएको छ । न्यूनतम ५० लाख रुपैयाँदेखि अधिकतम १५ करोड रुपैयाँसम्मको कर्जा लिन सकिनेछ । यस योजनामा बैंकले छिटो र सहज सेवा प्रदान गर्न आन्तरिक व्यवस्थापनलाई प्रभावकारी बनाएको छ । सम्पूर्ण आवश्यक कागजात प्राप्त भएको तीन कार्यदिनभित्रै कर्जा उपलब्ध गराउने व्यवस्था रहेको बैंकले जनाएको छ ।