गाजाको अवस्था दिनप्रतिदिन डरलाग्दो हुँदै
डीसी । इजरायल र हमासबिच जारी द्वन्द्वका कारण गाजाको अवस्था दिनप्रतिदिन डरलाग्दो हुँदै गइरहेको छ ।
यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा भोकमरीबारे इजरायलको दाबीप्रति कडा प्रतिक्रिया दिएका छन् । ‘गाजामा भोकमरी भन्ने कुनै चीज छैन, सबैले खाना पाइरहेका छन्’ भन्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको दाबीलाई उनले पूर्ण रूपमा अस्वीकार गरेका छन् । ट्रम्पले नेतान्याहूभन्दा फरक अडान लिँदै गाजाको अवस्था वास्तविक भोकमरीको भएको र कसैले यसलाई झूट भन्न नसक्ने बताएका छन् ।
अमेरिकाले अब आफैँले गाजामा खाना पुर्याउने व्यवस्था गर्नेछ र खाँचोमा परेका मानिसहरूका लागि खाद्य केन्द्रहरू निर्माण गर्ने पनि उनले बताए । ट्रम्पले सोमबार बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको भेटमा यो बयान दिएका हुन् । अमेरिकासँग धेरै खाद्यान्न भण्डार भएको भन्दै ट्रम्पले गाजामा भयानक भोकमरीको अवस्थालाई ध्यानमा राखेर आफूहरूले त्यहाँ खाना पुर्याउने बताएका थिए ।
‘गाजाका मानिसहरूले खाना पाउनुपर्छ, तर धेरै ठाउँमा लाइनहरू छन् र तिनीहरूलाई रोकिएको छ । चाहे त्यो हमास होस् वा अरू कोही । हामीले यी अवरोधहरू हटाउनु पर्छ ।’ अझ अगाडि उनले भनेका थिए । यस क्रममा ट्रम्पले गाजामा बालबालिकाको अवस्थाप्रति चिन्ता समेत व्यक्त गरेका थिए । उनले भने कि केही बालबालिकाको अवस्था हेर्दा यो वास्तविक भोकमरी हो भन्ने कुरा स्पष्ट हुने अनि यसलाई झूट भन्न नसकिने उनको भनाइ थियो ।