निर्धक्क भएर लगानी गर्नुहोस्, समस्या भए फुकाउन तयार छौँ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्योग–व्यवसायीलाई निर्धक्क भएर लगानी गर्न आग्रह गरेका छन् । समस्या परे आफू समाधान गर्न तयार रहेको उनको भनाइ छ । नेपाली कांग्रेसको वित्तीय क्षेत्र समन्वय विभागले सानेपामा आयोजना गरेको कार्यक्रममा मंगलबार सभापति देउवाले कांग्रेसले सुरु गरेको आर्थिक उदारीकरणमा सबै आएको उल्लेख गरे । अब पनि कतै अप्ठेरो परे समाधान गर्न र लगानीमैत्री वातावरण निर्माण गर्न कांग्रेस तयार रहेको उनले बताए । निजी क्षेत्रका समस्या के छन्, त्यसको समाधान गर्न तयार छु, देउवाले भने, नेपाल सरकारले उद्योग खोल्दैन, तपाईंहरू उद्योग–व्यवसाय सञ्चालनका लागि के समस्या छन् भन्नुस् । लगानी गर्नका लागि तयार हुनुस् । चौतर्फी आलोचना र दबाब छिचोल्दै कांग्रेस नेतृत्वको सरकारले ०४८ सालपछि लिएको आर्थिक नीतिको परिणामस्वरूप देशले प्रगति हासिल गरेको दाबी देउवाको छ ।

“०४६ सालमा परिवर्तन आएपछि ०४८ सालको निर्वाचित सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारले लिएको आर्थिक उदारीकरणको जगमा नेपालको आर्थिक प्रगति भएको हो, देउवाले भने, “व्यापार व्यापारीले गर्ने, उद्योग उद्योगीले खोल्ने भन्ने नीति लिएको त्यतिबेलै हो । उनले गिरिजाप्रसाद कोइरालाजस्तो अडिक व्यक्तित्वको नेतृत्वका कारण आर्थिक उदारीकरणमा प्रवेश सम्भव भएको बताए । चौतर्फी विवाद र गाली गरिए पनि कांग्रेसले आफ्नो नीतिमा लिएको अडानकै परिणामस्वरूप नेपालमा आर्थिक उपलब्धि हासिल भएको हो, देउवाले भने । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले कांग्रेसले सुरु गरेको ‘निजी क्षेत्रले लगानी गर्ने, राज्यले नियमन गर्ने’ नीतिका कारण एउटा बैंकले मात्र करिब ३४ अर्ब रुपैयाँ राज्यलाई बुझाउन सफल भएको बताए । उनले राज्यले लगानीमैत्री नीति लिएर बाधा फुकाउने काम गरे विश्वमै सबैभन्दा लगानीमैत्री वातावरण नेपालमै हुन सक्ने बताए । उनले जस्तासुकै ठूला परियोजना पनि निजी क्षेत्रबाट सम्भव रहेको बताए । नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्ससहितका अध्यक्षहरूले पनि निजी क्षेत्र स्थिर आर्थिक नीतिका पक्षमा रहेकाले यसमा काम गर्न आग्रह गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *