‘शार्क ट्यांक नेपाल’ प्रसारणको पहिलो महिनामै उत्साहजनक सफलता
काठमाडौं । बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’ लाई प्रसारणको पहिलो महिनामै उत्साहजनक सफलता मिलेको छ । पहिलो महिना प्रसारण भएका ८ एपिसोडबाट शार्क (निर्णायक) ले १७ स्टार्टअपलाई २१ करोडरुपैयाँ भन्दा धेरै लगानी जुटाइदिएका छन् । वेद एपले सबैभन्दा धेरै ६ करोड रुपैयाँ लगानी प्राप्त गरेको छ । शार्क हेमराज ढकालले २० प्रतिशत इक्विटी र केपीआईका सर्तमा उक्त लगानी गरिदिएका हुन् । सबैभन्दा न्यून लगानी चाहिँ ‘बिहे नेपाल’ एपले १ हजार रुपैयाँ र १ प्रतिशत इक्विटीमा प्राप्त गरेको छ ।
चारैजना शार्क यो म्याट्रिमोनिअल एपका हिस्सेदार बनेका छन् । भोला फुड्सले १ करोड, सन्ध्या पोते हाउसले २० लाख, आर्ट माया एक्जिमले ३ करोड, मेरो कोडिङ क्लासले १ करोड २ लाख, साथी प्याडले ५० लाख लगानी जुटाएका छन् । मुन वेकले ३० लाख, नेइल अर्थोक्टिसलाई ६० लाख, जय देउराली कृषि फार्मलाई ५० लाख, गुडविस इन्जिनियरिङलाई २ करोड, मणिशंकर पाउरोटी उद्योगलाई १५ लाख लगानी जुटेको छ । अरेन्ज बललाई १ करोड, अल्छी पसललाई १ करोड ५० लाख, सजिलो सेवालाई डेढकरोड, ट्यालेन्ट कनेक्सन प्रालिलाई डेढकरोड र एकेएच होल्डिङ प्रालिलाई ४० लाख लगानी जुटेको छ । ‘शार्क ट्यांक नेपाल’ हरेक बुधबार र विहीबार राती ९ बजे हिमालय टिभी र युट्युब च्यालनमा प्रसारण हुन्छ ।