मुलुकलाई लागुऔषध मुक्त बनाउने गरी काम गर्न गृहमन्त्री लेखकको निर्देशन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागुऔषध मुक्त बनाउने गरी प्रभावकारी ढङ्गले काम गर्न जरुरी रहेको बताएका छन् ।
आज (शुक्रबार) काठमाडौँको कोटेश्वरस्थित लागुऔषध नियन्त्रण ब्युरोको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागू औषधको उत्पादन, भण्डार र प्रयोग ठुलो चुनौतीका रूपमा देखिएको बताएका हुन् । उनले भने,’लागुऔषधको प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पत्ति गर्छ । त्यसैले हामीले एक वर्षमा लागू औषधविरुद्धको महाअभियान लागू गरेका थियौँ । त्यो अभियान सार्थक भएको छ ।’
विगतका वर्षमा भन्दा पछिल्लो एक वर्षमा लागू औषध नियन्त्रणमा प्रगति भएको गृहमन्त्री लेखकले बताए ।’आगामी दिनमा थप प्रभावकारी ढङ्गले यो चुनौतीको सामना गर्नु छ । स्रोत साधनको कमी भए पनि चाहँदा धेरै काम गर्न सकिन्छ । त्यो यो एक वर्षमा देखिएको छ,’उनले भने । लागुऔषधको बिगबिगी देखिएको भन्दै यस विरुद्धको अभियानमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।
यस्तै गृहमन्त्री लेखकले लागू औषध ब्युरोलाई विभागकै रूपमा विकास गर्ने प्रतिबद्धता जनाए । ‘लागु औषध ब्युरोलाई विभागका रूपमा विकास गर्ने मैले प्रतिबद्धता जनाएको छु । मन्त्रालयबाट हुने सहयोग हुन्छ,’ उनले भने । गृहमन्त्रीले लागुऔषध ब्युरोलाई विभागका रूपमा विकास गर्नका लागि तयारी अगाडि बढाउन प्रहरी महानिरीक्षक दिपक थापालाई निर्देशन दिए ।