विकास आयोजना निर्धारित समयमा सक्नेगरी काम गर्नुस : कार्यवाहक प्रधानमन्त्री सिंह
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणसम्बन्धी आयोजनाका काम निर्धारित समयसीमभित्र सक्नेगरी काम गर्न सरोकारवाला सबैलाई आग्रह गरेका छन् ।
स्थानीय पूर्वाधार तथा विकास विभागको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई आज यहाँ सम्बोधन गर्दै उनले विभागलाई विकास निर्माणका आयोजनाहरू समयमा सम्पन्न गर्नेगरी काम गर्न आह्वान गरे । सहरी विकास मन्त्रालयअन्तर्गत रहेको स्थानीय पूर्वाधार विकास विभागले सडक पूर्वाधार, झोलुङ्गे पुल, सडक पुल, स्थानीय तहको प्रशासकीय भवन र साना सिँचाइ आयोजनाको काम गरिररहेको छ ।
“विकास निर्माण र पूर्वाधारसँग सम्बन्धित काम समयमा सकियोस् भन्ने जनताको चाहना हुन्छ । उहाँहरूको चाहना पूरा गर्नेगरी काम गर्न लाग्नुस् । त्यसका लागि मनत्रालयबाट गर्नुपर्ने सहयोग प्राप्त हुनेछ”, उनले भने । गत वर्ष विभागको समग्र प्रगति ६५ प्रतिशत मात्र देखिएकामा असन्तुष्टि जनाउँदै उनले विगतका कमजोरी पहिचान गरी समाधान गर्दै आगामी वर्षमा उल्लेखनीय रूपमा वृद्धि गर्नुपर्नेमा जोड दिए ।
कार्यवाहक प्रधानमन्त्री सिंहले अघिल्लो वर्षको समीक्षाबाट सिक्दै आगामी वर्षका योजनाहरू प्रभावकारी ढङ्गले कार्यान्वयन गर्दै समयमा काम सुरु गर्न पनि निर्देशन दिए । स्थानीय पूर्वाधार विकास विभागले चालु वर्षमा गर्ने योजनाहरू समयमा र गुणस्तरीय रूपमा सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए ।