नाइमा मोबिलिटी एक्स्पो एक दिन थप, चार दिनमा ७० हजारले अवलोकन

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा अवलोकनकर्ताहरूको अप्रत्याशित भीड लागेपछि आयोजकले प्रदर्शनीको अवधि एक दिन थप गरेको छ । स्थापनाको छोटो समयमै नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) ले आयोजना गरेको पहिलो एक्स्पोमा दर्शकको उत्साहजनक उपस्थितिले नेपालको अटोमोबाइल बजारप्रतिको आकर्षण जीवन्त रहेको संकेत गरेको छ । श्रावण २१ बुधबारदेखि २५ गतेसम्म ५ दिनका लागि तय गरिएको एक्स्पो अब अवलोकनकर्ताहरूको चाप र मागलाई ध्यानमा राख्दै श्रावण २६ गते, सोमबारसम्म सञ्चालन हुने नाइमाले जनाएको छ । आयोजकका अनुसार, शनिबारसम्मका सुरुवाती चार दिनमा मात्रै ६९ हजार ५ सय जनाले एक्स्पो अवलोकन गरिसकेका छन् । नाइमाका अनुसार पहिलो दिन १५ हजार, दोस्रो दिन साढे १३ हजार, तेस्रो दिन साढे १९ हजार र शनिबार मात्रै २१ हजार ५ सय जनाले एक्स्पोमा सहभागिता जनाएका थिए ।

शनिबार परेको मुसलधारे पानीका बाबजुद पनि अवलोकनकर्ताहरूको उत्साहमा कुनै कमी आएन, बरु सबैभन्दा बढी भीड सोही दिन देखियो, जसले गाडीप्रति आममानिसको चासोलाई स्पष्ट पार्छ । एक्स्पो स्थलमा आफूलाई मनपर्ने दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनबारे जानकारी लिने, सोधपुछ गर्ने, बुकिङ गर्ने र खरिद गर्नेहरूको बाक्लो उपस्थिति रहेको छ । कार्यालयको काममा व्यस्त रहनेहरूले समेत शनिबारको सार्वजनिक बिदाको भरपुर उपयोग गर्दै एक्स्पो अवलोकन गरेका थिए । सर्वसाधारणका साथै वरिष्ठ कलाकार, कूटनीतिक नियोगका कर्मचारी, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि र व्यवसायीहरूले समेत एक्स्पोमा सहभागिता जनाएका छन्, जसले यसको बृहत् आकर्षणलाई पुष्टि गर्छ । ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी रहेको यो एक्स्पोले अवलोकनकर्ताहरूलाई एकै छानामुनि विभिन्न सवारीसाधन तुलना गर्ने र छान्ने अवसर प्रदान गरेको छ । स्थापनाको केही महिनामै आयोजना गरिएको पहिलो प्रयासमा नै नाइमाले पाएको यो सफलताले आगामी दिनहरूमा नेपालको मोबिलिटी क्षेत्रमा थप योगदान पुर्याउन आयोजकलाई उत्साहित बनाएको छ । अवलोकनकर्ताहरूको अपार माया र समर्थनलाई मध्यनजर गर्दै थपिएको एक दिनले गाडी खरिद गर्न वा जानकारी लिन चाहनेहरूलाई थप सहज हुने आयोजकको विश्वास छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *