साढे ६ किलोबराबर गहनासहित ११ भारतीय पक्राउ

कास्की प्रहरीले ६.४ किलोबराबर सुनका गहनासहित ११ भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने सबैजना कालिगडदेखि सुनसम्बन्धी काम गर्नेहरू हुन् । उनीहरू पोखरा महानगरपालिकाका विभिन्न स्थानमा बस्दै आएका थिए । ‘अपरेसन एल्लो मेटल’ नाम दिएर प्रहरीले पोखरा–२, ३, ४ र ९ नम्बर क्षेत्रमा सुनचाँदीको अवैध कारोबार गर्नेमाथि निगरानी बढाएको थियो । प्रहरीको संयुक्त टोली खटाइएको थियो ।

सोहीक्रममा शुक्रबार (साउन २३) उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरू सबैका साथबाट फरक–फरक परिमाणमा गरी साढे ६ किलोबराबर सुनका गहना बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद सुनको परिमाण ५४९ तोला ४० लाख (६ किलो ४०० ग्राम) रहेको कास्की प्रहरीका प्रवक्ता एवं डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । यस्तै, ४४४ तोला ७३.९ लाल चाँदी र पाँच लाख १४ हजार ६६५ रुपैयाँ नगद बरामद गरिएको उनले बताए । पक्राउ परेकाहरूलाई थप अनुसन्धानका निम्ति राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने बस्नेतले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *