सिटिजन्स बैंकको नाफा १.२९ अर्ब रुपैयाँ
काठमाडौं । सिटिजन्स बैंकको गत आर्थिक वर्ष २०८१।८२ मा निक्षेप संकलन ११.७६ प्रतिशत बढेर २ खर्ब ११ अर्ब ५० करोड ७ लाख ९३ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब ८९ अर्ब २३ करोड ६६ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । गत वर्ष बैंकको कर्जा लगानी १०.१८ प्रतिशत बढेर १ खर्ब ६८ अर्ब ९५ करोड ६८ लाख १८ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब ५३ अर्ब ३४ करोड ३६ लाख ५० हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ११.२० प्रतिशत बढेर ६ अर्ब ३६ करोड ४९ लाख ७३ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ५ अर्ब ७२ करोड ३८ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै, बैंकको सेवाशुल्क तथा कमिसन आम्दानी १९.७४ प्रतिशत बढेर १ अर्ब ३४ करोड ७० लाख ५१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.१२ प्रतिशत बढेर ८ अर्ब १२ करोड ४४ लाख १० हजार रुपैयाँ, सञ्चालन नाफा २.३२ प्रतिशत घटेर २ अर्ब ९ लाख ७५ हजार रुपैयाँ गरेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा २६.४५ प्रतिशत बढेर ७७ करोड ५४ लाख ५२ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले ५.२५ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा ६१ करोड ३२ लाख ४२ हजार रुपैयाँ थियो । सो आधारमा लाभांश क्षमता ४.३२ प्रतिशत थियो । गत वर्ष बैंकको चुक्ता पुँजी ३.९९ प्रतिशत बढेर १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँ र जगेडा कोष ९.६० प्रतिशत बढेर ७ अर्ब ४० करोड ९४ लाख ९४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकको खुद नाफा भने २ प्रतिशत घटेर १ अर्ब २९ करोड ३२ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ३२ करोड ७ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
खुद ब्याज आम्दानी, खुद शुल्क तथा कमिसन आम्दानी, खुद व्यापारिक आम्दानी, अन्य सञ्चालन आम्दानीमा केही वृद्धि, कर्मचारी खर्चमा केही कमी र अन्य सञ्चालन खर्च र परिशोधन तथा ह्रास खर्चमा केही वृद्धि तथा कर्जा नोक्सानी व्यवस्थामा भएको वृद्धिका कारणले खुद नाफामा गत वर्षको सोही त्रैमासको तुलनामा कमी आएको बैंकले जनाएको छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी ०.५४ रुपैयाँ घटेर ८.७६ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी ९.३० रुपैयाँ थियो । बैंकको प्रतिसेयर नेटवर्थ १५५.४२ रुपैयाँ र मूल्य आम्दानी अनुपात २६.०६ गुणा रहेको छ । अघिल्लो वर्ष ४.१० प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ४.९४ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी ५.८१ प्रतिशत, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८१.९४ प्रतिशत, आधार दर ६.२५ प्रतिशत र कस्ट अफ फण्ड ४.४९ प्रतिशत रहेको छ । व्यवसाय विविधिकरण तथा गुणस्तरीय सेवा प्रदान गर्ने बैंकको उद्देश्य तथा स्थानीय तहका दुर्गम क्षेत्रमा खोलिएका शाखा, शाखा रहित बैंकिङ्ग, विस्तारित काउन्टर र डिजिटल सेवा सुविधाका विभिन्न माध्यमबाट ग्रामीण क्षेत्रमा बैंकिङ्ग पहुँच वृद्धि गर्दै लैजाने, ग्राहक मुखी नयाँ सेवा तथा सुविधामा आवश्यकता अनुसार वृद्धि गर्ने र ग्राहक सेवा सुविधा अझ चुस्त दुरुस्त र स्तरीय बनाउँदै लगिने योजना रहेको बैंकको भनाइ छ ।