लक्ष्मी महिला बचतद्वारा तीज विशेष कार्यक्रम सम्पन्न
काभ्रे । लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तीज कार्यक्रम २०८२ मनाएको छ । अध्यक्ष हिमाली श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रम पनौती नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष विनोद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । संघ, प्रदेश र जिल्ला स्तरमा पनि महिलाहरु मात्रै सदस्य रहेको नमुना र उत्कृष्ट सहकारी संस्थाका रुपमा चिनिएका लक्ष्मी महिला बचत सहकारीले उत्कृष्ट तीज बचतकर्ता सदस्य र उत्कृष्ट समुहलाई सम्मान गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी अध्यक्ष खत्रीले नमुना सहकारीले महिलाहरुलाई बचत गर्न मात्रै सिकाएको नभई बचत गर्न सक्ने हैसियत प्रदान गरेको बताए । सहकारीले सीपसँग केन्द्रित रहेर सहकारीका कार्यक्रम संचालन गरिरहेको बताउँदै सहकारीप्रति नकारात्मक सन्देश गईरहेका बेलामा पनि लक्ष्मी महिला बचतले दिएको सकारात्मक सन्देश महत्वपूर्ण रहेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिनाले सकारात्मक सोच, चिन्तनसँगै सीप र आयमुलक कार्यका लागि लक्ष्मी महिला बचत उदाहरण बनेको बताए ।

जिल्लामा महिला हिंसा, आत्महत्या लगायतका घटनाहरु न्यूनीकरण गर्ने अभियानमा पनि सहकारीको महत्वपूर्ण भूमिका हुने उनले बताए । कार्यक्रममा सहकारीका पुर्व अध्यक्ष मैया महतले सहकारीको स्थापना देखि हालसम्म भएका गतिविधिहरु सदस्य केन्द्रित रहेको बताईन् । कार्यक्रममा बोल्दै अध्यक्ष हिमाली श्रेष्ठले २७ वर्ष अघि १ सय ३२ जना सदस्यहरुबाट शुरु भएको संस्थामा ३३ करोडको कारोवार भई ३५ सय सदस्य पुगेको बताईन् । सीपमुलक तालिम, स्वास्थ्य शिविर तथा स्थानीय तहहरुसँगको सहकार्यमा आयोजित कार्यक्रमहरु प्रभावकारी हुने बताउँदै अध्यक्ष श्रेष्ठले सहकारी अभियान सहकार्य मार्फत सुदृढ हुने बताईन् । सहकारीले विभिन्न कार्यक्रमहरु मार्फत सहकारी शिक्षा सचेतना गराईरहेको प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीले बताए । कार्यक्रममा उपाध्यक्ष कोपिला कार्की, लेखा समिति संयोजक सोविता थापा मगर, सह सचिव शर्मिला अधिकारी लगायतले सहकारीका विषयमा जानकारी गराएका थिए । सहकारी सदस्यहरुले तीज विशेष कार्यक्रममा सांस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन लिएका थिए ।