लैङ्गिक संवेदनशीलता सबैको साझा मुद्दा हो- सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलता कुनै विशेष वर्गको मात्र मुद्दा नभई समग्र सामाजिक रूपान्तरणको महत्वपूर्ण आधार भएको बताएका छन्।

नेपाली कांग्रेसको आयोजनामा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पन्न लैङ्गिक संवेदनशीलतासम्बन्धी कार्यशाला गोष्ठीमा उनले सबैले यस विषयमा संवेदनशील बने मात्र सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण सम्भव हुने बताए। “यो कुनै वर्ग विशेषको मात्रै मुद्दा होइन, हामी सबै संवेदनशील बने मात्र सम्मानित, सुरक्षित र समावेशी समाज बनाउन सक्छौं,” देउवाले भने। उनले सहकार्य र समन्वयमार्फत लैङ्गिक संवेदनशीलतासम्बन्धी विचार र सुझावलाई कार्यान्वयनमा लैजान पार्टी आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । सोसल डेमोक्रेसीको सञ्जालले एशियाली क्षेत्रमा राजनीतिक, आर्थिक र सामाजिक बहसलाई गहिरो बनाउँदै आएको उल्लेख गर्दै उनले विकास, समानता र न्यायमा आधारित समावेशी नीति निर्माणका लागि यो प्लेटफर्म सशक्त माध्यम भएको बताए।

देउवाले नेपाली कांग्रेसकी नेतृ तथा नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष स्वर्गीय मंगला देवी सिंहलाई स्मरण गर्दै विसं २००४ मा भएको पहिलो नगर परिषद्को निर्वाचनमा महिलाका लागि मताधिकारको आन्दोलन गरेको योगदानलाई उच्च प्रशंसा गरे । कार्यक्रममा पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्बे, महालक्ष्मी उपाध्याय र जीवन परियारले लैङ्गिक समानता महिलामात्रको नभई सामाजिक रूपमा पछाडि पारिएका वर्ग र समुदायको समेत सरोकार भएकोमा जोड दिए। जसपा नेता अर्जुन थापाले स्थानीयदेखि केन्द्रीय तहसम्म महिलाको सहभागिता अभिवृद्धि गर्नुपर्ने धारणा राखे।

कांग्रेस केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले महिला र कमजोर वर्गप्रति समाज असंवेदनशील हुँदै गइरहेको भन्दै समान दृष्टिकोणको आवश्यकता औंल्याए। नेपाल महिला सङ्घ अध्यक्ष उषा मिश्र राउतले समाजमा लैङ्गिक समानताबारे जागरूकता अभिवृद्धि गर्नुपर्नेमा जोड दिइन्। कार्यक्रममा सातै प्रदेशका स्थानीय तहमा समेत गएर महिलाको नेतृत्व क्षमतामा वृद्धि र सहभागिता विस्तारका लागि गोष्ठी सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *