नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको छलाङ, खुद नाफा ६४ प्रतिशतले बढ्यो
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमासमा नाफा, सञ्चिति र पूँजी पर्याप्तता अनुपातमा वृद्धि गरेको छ । बैंकको खुद नाफा ६ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४ अर्ब ११ करोड रुपैयाँ अर्थात ६४ प्रतिशतले बढी हो । यसले बैंकको वार्षिक आम्दानी प्रति शेयर १२ रुपैयाँ ०४ पैसाबाट बढेर १९ रुपैयाँ ८० पैसा पुर्याएको छ । सञ्चालन मुनाफा ५८.६७ प्रतिशत बढेर १० अर्ब १४ करोड रुपैयाँ पुगेको छ, जसमा इम्पेयरमेन्ट चार्ज ८८.७६ प्रतिशत घटेर ५ अर्ब ११ करोड रुपैयाँबाट ५७ करोड ४४ लाख रुपैयाँमा झरेको प्रमुख कारण रह्यो।
यद्यपि, खुद ब्याज आम्दानी ६.५४ प्रतिशत घटेर १४ अर्ब १३ करोड रुपैयाँमा सीमित रह्यो भने कर्मचारी खर्च १६.१० प्रतिशत बढेर ४ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। ब्यालेन्ससिटतर्फ, निक्षेप १७.०९ प्रतिशत बढेर ४७२ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ७.०२ प्रतिशत बढेर ३२६ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । सञ्चिति ३.१७ प्रतिशत बढेर ३२ अर्ब ७४ करोड रुपैयाँमा पुगेको छ । बैंकको पूँजी पर्याप्तता अनुपात १२.९७ प्रतिशतबाट बढेर १३.७३ प्रतिशत पुगेको छ। कोषको लागत ५.८७ प्रतिशतबाट घटेर ४.२५ प्रतिशत पुगेको छ, तर खराब कर्जा ४.९१ प्रतिशतबाट बढेर ५.८५ प्रतिशत पुगेको छ । बैंकको प्रति शेयर खुद सम्पत्ति मूल्य ११.९५ प्रतिशत बढेर १९७ रुपैयाँ ३८ पैसा पुगेको छ। त्रैमासको अन्त्यमा बैंकको मूल्य–आम्दानी अनुपात ११.६७ रहेको छ भने बजार मूल्य प्रति शेयर २३१ रुपैयाँ ०२ पैसामा कायम भएको छ । अघिल्लो आर्थिक वर्ष वितरणयोग्य नाफा झन्डै ५ अर्ब ६९ करोड ऋणात्मक रहेकोमा गत आर्थिक वर्ष ४९ करोड रुपैयाँ रहेको छ ।