नाडा अटो शोमा बैंकहरूको अटो लोन सार्वजनिक
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा आजदेखि सुरू भएको १७औँ नाडा शोमा विभिन्न आठ वाणिज्य बैंकहरुले सहभागिता जनाएका छन् । बैंकहरुले नाडा अटो शोलाई लक्षित गरी विभिन्न अटो लोन सार्वजनिक गरेका छन् । नाडा अटो शोमा सहभागी बैंकहरुले झन्डै आधारदरमै र न्यूनतम ६.२३ देखि ८.१५ प्रतिशत अटो लोन दिने योजना सार्वजनिक गरेका छन् । नाडामा सहभागिता जनाएका बैंकहरुले फिक्स्ड र फ्लोटिङ दरमा अटो लोन दिने भएका छन् । नबिल बैंकले आधारदर (बेसरेट) मा एक प्रतिशत प्रिमियम थपेर अटो लोन दिने भएको छ । नबिलको आधारदर ५.७४ प्रतिशत रहेको छ । आधारदरमा प्रिमियम थप्दा बैंकले ६.७४ प्रतिशत ब्याजमा ईभी गाडी खरिदमा ऋण दिने भएको छ । बैंकले न्यूनतम पाँचदेखि सात वर्षसम्म अवधिका लागि अटो लोन दिने जनाएको छ ।
यस्तै हिमालयन बैंकले साढे ७ प्रतिशत ब्याजमा ईभी गाडी खरिदका लागि ऋण दिने भएको छ । ऋणको अवधि आठ प्रतिशत रहेको छ । यस्तै डिजेल गाडीमा ८ वर्षका लागि ७।६५ प्रतिशत ऋण दिने बैंकले जनाएको छ । एनएमबी बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै अटो लोन योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत एनएमबीले सात वर्ष अवधिका लागि फिक्स्ड ब्याजदरमा ८.८९ प्रतिशत र फ्लोटिङ दरमा साढे सात प्रतिशत ब्याजदर निर्धारण गरेको छ । अटो लोनका निम्ति आवेदन प्रक्रिया सहज र लचिलो बनाइएको बैंकले जानकारी दिएको छ । यस्तै लक्ष्मी सनराइज बैंकले बेस रेटमा एक प्रतिशत ब्याजमा अटोलोन दिने भएको छ । बैंकले फ्लोटिङदरमा ७.३५ प्रतिशत ब्याजमा अटो लोन दिने बैंकले जनाएको छ । बैंकले दिने अटो लोनको अवधि सात वर्ष हुनेछ । यस्तै फिक्सडदरमा सात वर्षका लागि ७.९९ प्रतिशत ब्याजमा ऋण दिने भएको छ ।
ग्लोबल आइएमई बैंकले न्यूनतम ६.९९ देखि ८.२५ प्रतिशत ब्याजमा अटोलोन दिने भएको छ । फ्लोटिङदरमा ६.९९ रहेको छ भने फिक्स्डमा ८.२५ प्रतिशत ब्याजदर रहेको छ । कृषि विकास बैंकले सबैभन्दा कम ६.२३ प्रतिशत ब्याजमा ईभी लोन योजना ल्याएको छ । बैंकले नाडा अवधिभर सेवा शुल्कमा ३३ प्रतिशत छुट दिएको जनाएको छ । नाडामा सबैभन्दा सस्तो दरमा अटोलोन दिने बैंक कृषि विकास भएको छ । यसैगरी सानिमा बैंकले पनि पाँच वर्षका लागि ७.९९ र सात वर्षमा ८.१५ प्रतिशत ब्याजमा अटो लोन दिने जानकारी दिएको छ । नेपाल एसबीआई बैंकले आधारदरमा ०.७० प्रतिशत प्रिमियम थपेर अटो लोन दिने भएको छ । आधारदर अझै घट्ने भएकाले खुलाएको छैन । गत असारसम्म बैंकको आधारदर ६.२९ प्रतिशत रहेको छ । आधारदर अझ घट्ने जानकारी बैंकले दिएको छ । नेपाल राष्ट्र बैंकले ईभी ऋण सीमा घटाएर ६० प्रतिशतमा झारेको छ । ईभी किन्ने व्यक्तिले ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने हुन्छ । राष्ट्र बैंकका अनुसार गत जेठसम्म बैंक तथा वित्तीय संस्थाहरुले एक खर्ब ३० अर्ब ९४ करोड ८० लाख रुपैयाँ हायरपर्चेज लोन दिएका छन् । व्यक्तिगत तथा संस्थागत गाडी खरिदका लागि उक्त रकम ऋण गएको बैंकहरुले जनाएको छ । संस्थागततर्फ ८७ अर्ब २६ करोड र व्यक्तिगत ३६ अर्ब ४७ करोड रुपैयाँ ऋण लगानी भएको छ ।