१७ औं संस्करणको नाडा अटो शो शुरु,प्रधानमन्त्री ओलीद्धारा उद्घाटन
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजबाट शुरु भएको १७ औं संस्करणको नाडा अटो शोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले नेपालको अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्र र रोजगारीमा महत्त्वपूर्ण योगदान पुर्याएको बताएका छन् । अध्यक्ष चौधरीले यो क्षेत्रले १० लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको र ३ हजारभन्दा बढी व्यवसायीलाई संगठित गरेको दाबी गरे । उनले नाडा अटो शो केवल सवारीसाधनको प्रदर्शनी नभई समग्र अटोमोबाइल क्षेत्रको एक प्रमुख व्यावसायिक थलो भएको बताए । ‘नेपालमा वार्षिक बिक्री हुने कुल गाडीमध्ये करिब ४० प्रतिशत यही थलोबाट बुकिङ हुने गरेको छ । ‘यसले हाम्रो रोजगार र राजस्वमा ठूलो सहयोग पुर्याउँछ ।’ अध्यक्ष चौधरीले युवा शक्ति पलायन देशको प्रमुख चुनौती भएको उल्लेख गर्दै नाडाले सीप विकास र रोजगारी सिर्जनामार्फत यसलाई रोक्न पहल गरिरहेको बताए । ‘हामी सीप पनि दिन्छौं, रोजगार पनि दिन्छौं,’ उनले भने, ‘युवालाई देशमै अवसर छ भन्ने विश्वास दिलाउन हामी सरकारसँग सहकार्य गर्न तयार छौं ।सम्बोधनका क्रममा उनले सरकारले ल्याएको पछिल्लो बजेटको खुलेर प्रशंसा गरे । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई धन्यवाद दिँदै अध्यक्ष चौधरीले भने, ‘यो मेरो नाडाको दश वर्षे कार्यकाल, एक दशकमा मैले नदेखेको बजेट हो । यो स्वागतयोग्य छ र हामीले हर्षोल्लासका साथ मनाउनुपर्छ ।’ उनले सरकारका सकारात्मक कदमलाई प्रोत्साहन गर्नुपर्ने र आलोचना मात्र गर्ने परिपाटीबाट माथि उठेर सहकार्य गर्नुपर्नेमा जोड दिए । यस वर्षको अटो शोमा नयाँ आकर्षणहरू थपिएको जानकारी दिँदै चौधरीले पहिलो पटक ह्युमोनोइड रोबोट र दक्षिण एसियामै पहिलो पटक भर्टिकल फ्लाइङ ट्याक्सी सार्वजनिक गरिएको बताए । साथै ‘मेड इन नेपाल’ पविलियनमार्फत टायर, ब्याट्री, लुब्रिकेन्ट्स जस्ता स्वदेशमै उत्पादित पार्टपुर्जालाई प्रोत्साहन गरिएको उनको भनाइ थियो । सवारी खरिदमा फाइनान्सिङको समस्या रहेको स्वीकार्दै उनले आगामी मौद्रिक नीतिको समीक्षाबाट यसको समाधान निस्कनेमा आफू आशावादी रहेको बताए । उनले नाडाले उपभोक्ता, व्यवसायी र सरकार सबैको हितमा काम गर्न सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।