फोटोन ई–टुनल्यान्ड पिकअप अब नेपालमा, नाडा अटो शोमा सार्वजनिक
काठमाण्डौं । नेपालका लागि फोटोनको आधिकारिक वितरक एमएडब्लु कमर्सियलले राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ मा नयाँ इलेक्ट्रिक पिकअप ई–टुनल्यान्ड (eTunland) सार्वजनिक गरेको छ। ८८ किलोवाट आवर क्षमताको सीएटीएल (CATL) ब्याट्रीसहित आएको यो पिकअपले एकपटकको चार्जमा डब्लुएलटीपी मापदण्डअनुसार ३५० किलोमिटर दूरी तय गर्न सक्ने कम्पनीले जानकारी दिएको छ। यसमा १३० किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले दैनिक प्रयोगदेखि लामो यात्रासम्म पर्याप्त पावर र परफर्मेन्स दिने दाबी गरिएको छ।
ग्राहक विश्वासलाई प्राथमिकता दिँदै कम्पनीले ब्याट्रीमा ८ वर्ष वा ४ लाख किलोमिटर र मोटरमा ५ वर्ष वा २ लाख किलोमिटरको वारेन्टी उपलब्ध गराउने घोषणा गरेको छ। ई–टुनल्यान्डको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने नाडा अटो शो विशेष अफरअन्तर्गत १ लाख रुपैयाँ छुट दिइनेछ। कम्पनीले यसका लागि बुकिङ खुला भइसकेको जानकारी दिएको छ। फोटोनका अनुसार यो नयाँ पिकअपले इन्धनरहित सवारीको सुरुवात गर्दै हरित भविष्यतर्फको कदम को प्रतिनिधित्व गर्नेछ। वातावरणमैत्री प्रविधि, उच्च पर्फर्मेन्स र फोटोन टुनल्यान्डका गाडीमा सधैं अपेक्षित पावरका गुणहरू यसमा कायम गरिएको बताइएको छ। यसअघि सार्वजनिक गरिएको फोटोन टुनल्यान्ड जी ७ ले पनि अटो शोमा ठूलो आकर्षण पाएको थियो। नयाँ ई–टुनल्यान्डमार्फत कम्पनीले नेपाली बजारमा इलेक्ट्रिक पिकअप सेग्मेन्टमा बलियो उपस्थितिको घोषणा गरेको छ।