जिल्ला अदालतको आदेशविरुद्ध रवि उच्च अदालत तुलसीपुरमा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएका छन् ।
सुप्रिम बचत तथा ऋण सहकारीको ठगी प्रकरणमा लामिछानेले आफ्नो दायित्वमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको धरौटी रकम बुझाएर छोड्न दिएको निवेदन जिल्ला अदालत रुपन्देहीले अस्वीकार गरेपछि लामिछाने उच्च अदालत गएका हुन् । लामिछानेका कानुन व्यवसायीले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दर्ता गरेका छन् ।
गत साउन २६ गते रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले रवि लामिछानेको निवेदनमा आदेश दिदै बैंक ग्यारेन्टीमा छोड्न अस्वीकार गरेको थियो । लामिछाने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश अनुसार गत चैत २२ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका छन् ।