‘प्रि–आईपीओ’को नाममा सेयर किनबेच नगर्न नेपाल धितोपत्र बोर्डको आग्रह
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सोमबार सार्वजनिक सूचना जारी गर्दै ‘प्रि–आईपीओ’ नाममा सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत भइरहेको सेयर किनबेचको गतिविधिबाट सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । केही व्यक्तिहरूले ह्वाट्सएप, भाइबर, फेसबुक ग्रुप, इमेल तथा एसएमएस जस्ता माध्यमबाट सार्वजनिक निष्कासन नभइसकेका संस्थाहरूको सेयर भविष्यमा सार्वजनिक हुने भन्दै सर्वसाधारणलाई प्रि–आईपीओ नाममा सेयर खरिद गर्न प्रस्ताव गरिरहेका छन् । यस्तो किसिमको कारोबार अवैध र गैरकानुनी भएको बोर्डले स्पष्ट पारेको छ । तर, यस्ता क्रियाकलाप भइरहँदा समेत बोर्डले कारबाही गरेको छैन ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १९ को उपदफा १ बमोजिम कुनै पनि व्यक्ति वा संस्थाले धितोपत्र बोर्डको स्वीकृति बिना सार्वजनिक निष्काशन गर्न, त्यसको प्रचार गर्न वा वितरण गर्न नपाइने व्यवस्था छ । यसै अनुसार, ‘प्रि–आईपीओ’ भन्ने नाममा सेयर बिक्री तथा खरिद गर्न खोज्ने कार्य कानुनविपरीत हुने भएकोले, यसप्रकारको गतिविधिमा संलग्न नगर्न बोर्डले चेतावनी दिइएको छ । बोर्डले थप स्पष्ट पारेको छ कि यस्ता कार्यहरूले सर्वसाधारण लगानीकर्तालाई भ्रममा पार्ने, ठग्ने र आर्थिक क्षति पुर्याउने सम्भावना भएकोले यस्ता कार्यमा संलग्न नहुन सर्वसाधारण, लगानीकर्ता तथा संस्थाहरूलाई अनुरोध गरिएको छ ।