अगस्त महिनामा विदेशी पर्यटकको संख्या २२ प्रतिशतले बढ्यो
काठमाडौँ । नेपालमा विदेशी पर्यटकको अगामन २२ प्रतिशतले बढेको छ ।
गत बर्षको अगस्त महिनामा भन्दा यस बर्षको अगस्तमा नेपाल आउने विदेशी पर्यटकको संख्या २२ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । यस बर्षको अगस्तमा कुल ८८ हजार ६८० विदेशी पर्यटक आएका छन् भने अघिल्लो बर्षको अगस्तमा ७२ हजार ७१७ पर्यटक आएका थिए । कोभिड शुरु हुनु अघि २०१९ को अगस्तमा यो संख्या ९४ हजार ७४९ रहेको थियो ।
नेपाल आउने विदेशी पर्यटकमा सबै भन्दा बढी ५३ प्रतिशत दक्षिण एशियाका रहेका छन् भने अन्य एशियन देशका १७.८ प्रतिशत रहेको बोर्डले जानकारी दिएको छ । त्यसैगरी युरोपबाट १२.६ प्रतिशत, अमेरिकाबाट ८.२ प्रतिशत पर्यटक अगस्त महिनामा नेपाल आएका छन् । त्यस्तै नेपाल आउने सबैभन्दा बढी पर्यटक छिमेकी देश भारतका रहेका छन् । अगस्त महिनामा मात्र नेपालमा ३५ हजार ५०५ भारतीय नेपाल आएका छन् ।
त्यस्तै अर्को छिमेकी मुलक चीनबाट ७ हजार ५३३ जना नेपाल आएका छन् । त्यस्तै अमेरिकाबाट अगस्त महिनामा ६ हजार ६८ जना आएका छन् भने श्रीलंकाबाट ५ हजार ९५६ जना नेपाल आएका छन् ।