’विद्याको सदस्यता नवीकरणको विषय विधान महाधिवेशनको छलफलको विषय होइन्’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषय विधान महाधिवेशनको छलफलको विषय नभएको बताएका छन् ।
आज (शुक्रबार) विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले विद्या भण्डारीको सदस्यताको विषयमा भइरहेको टिकाटिप्पणीहरु विधान महाधिवेशनको छलफलको विषय नभएको बताएका हुन् । ’विधान महाधिवेशनसँग विधिका प्रश्नसँग सम्बन्धित छैनन् । ति प्रश्नहरू अन्यत्रै कमिटीगत छलफलका विषय हुन्,’ विद्याको विषयलाई लक्षित गर्दै उनले भने, ’सचिवालयमा, स्थायी कमिटी, पोलिट ब्युरोले छलफल गर्दै लानेछ । विधान महाधिवेशनलाई विधान महाधिवेशनकै रुपमा अघि बढाउनेछौँ। विषय केन्द्रित भएर यस महाधिवेशनमा प्रस्तुत हुनेछौँ।’ उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषयतर्फ इंकित गर्दै विधान महाधिवेशनमा यस्तो विषय नउठ्ने बताएका हुन् ।
विधान महाधिवेशनलाई विषय केन्द्रित भएर अगाडि बढ्ने ओलीले बताए । पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषयमा पार्टीका दुई उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले फरक मत राखेका छन् । त्यस्तै, स्थायी कमिटी सदस्य कर्ण थापाले पनि फरक मत दर्ता गराएका छन् । ज्ञवाली र पाण्डेको फरक मतले विधान महाधिवेशनमा प्रवेश नपाउने बताइएको छ भने थापाको मतबारे पनि छलफल हुने एमालेले बताएको छ ।