बैंक, वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारीहरुलाई आवत जावत गर्न दिने नेपाली सेनाको निर्णय
काठमाडौं । आजबाट कार्यालय समयमा बैंक तथा बीमा कम्पनी र अन्य वित्तीय संस्थाका कर्मचारीहरुलाई कार्यालय आवत जावत गर्न दिने सम्बन्धमा नेपाली सेनाले आवश्यक निर्णय गरी प्रबन्ध मिलाएको जनाएको छ । सेनाको निर्णय अनुसार नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण जस्ता नियामकीय निकाय आजबाट खोलेर काम गर्न पाइने भएको छ । सैनिक जनसम्पर्क कार्यालयका अनुसार बैंक तथा वित्तीय संस्थाहरु तथा बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुलाई कार्यालय जान दिने निर्णय गरिएको हो । त्यसको लागि बैंक तथा बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुले आफ्ना साधनमा परिचय स्पष्ट देखिने गरी लगाएर हिड्न पाउने भएका छन् । आजैबाट बैंकहरु समेत आन्तरिक रुपमा खोलेर काम कारवाही गर्न सकिने छ । नेपाली सेनाले जारी गरेको बिज्ञप्तिमा समेत सार्वजनिक निकाय भनेर तोकिएका कार्यालयका कर्मचारीहरुलाई आवात जावत गर्न दिने उल्लेख छ । तर, सार्वजनिक सेवा आजैबाट प्रवाह हुने कुरा उल्लेख गरिएको छैन । बैंकका एटिएमहरु समेत बन्द रहेको र आम सर्वसाधारणसँग नगद अभाव बढ्दै गएको सन्दर्भमा आजको निर्णय केही सहज भने हुनेछ । नेपाली सेनाका अनुसार सरकारी कर्मचारीहरुलाई पनि आजबाट कार्यालय आवात जावत गर्न दिने उल्लेख छ । सबै सरकारी कर्मचारीहरुले परिचय लगाएर आफ्ना साधन वा हिडेर कार्यालय जान सक्नेछन् ।


















