अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक पहल र सहजीकरण गर्न आग्रह
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका कारण उत्पन्न भएको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । उक्त प्रदर्शनका कारण गर्दै उद्योग, व्यापार र रोजगारीमा गहिरो असर परेको नाडाको ठहर छ । संघले प्रदर्शनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । नाडाले भनेको छ, “देशको वर्तमान अवस्थाले उपभोक्ता विश्वासमा नकारात्मक असर पुर्याएको छ, जसले दीर्घकालीन रुपमा लगानी र रोजगारीमा चुनौती थपेको छ ।”
अटोमोबाइल क्षेत्रलाई उद्योग र रोजगारीको आधारशिला मान्दै नाडाले कर्मचारी, ग्राहक र संरचनाको सुरक्षाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । संघले शान्तिपूर्ण संवाद र सहमतिको बाटोबाट मात्र जटिल समस्या समाधान गर्न सकिने भन्दै सरकारलाई अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक पहल र सहजीकरण गर्न आग्रह गरेको छ । नाडाले आफ्ना सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास र सम्पूर्ण अटोमोबाइल उद्योगलाई सुरक्षित राख्न निरन्तर खटिने प्रतिबद्धता पनि जनाएको छ । साथै, नेपालले पहिलो पटक महिला प्रधानमन्त्री पाएको ऐतिहासिक सन्दर्भमा शुभकामना व्यक्त गर्दै मुलुक स्थायित्व र आगामी आम निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास समेत व्यक्त गरेको छ ।