जेनजी आन्दोलनको हिंसात्मक गतिविधि योजनाबद्ध देखिन्छ : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको क्रममा भएका आगजनी र तोडफोडका घटनाबारे शंका व्यक्त गरेकी छिन्।
पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै उनले यस्ता गतिविधि आकस्मिक नभई योजनाबद्ध षड्यन्त्रजस्तो लाग्ने टिप्पणी गरिन्। “यो त कुनै ‘प्लान बी’ जस्तो देखिन्छ, षड्यन्त्रै हो कि भन्ने शंका लागेको छ,” प्रधानमन्त्री कार्कीले भनिन्। उनले आन्दोलनको आडमा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतदेखि व्यापारिक कम्प्लेक्ससम्ममा भएको आगजनी राष्ट्रका लागि लज्जास्पद भएको बताइन्। घटनाको सत्यतथ्य सार्वजनिक गर्न छानबिन अघि बढाइने उनको भनाइ छ।
आज पदभार ग्रहणपछि सचिवहरूसँगको छलफलमा निजी क्षेत्रमा भएको क्षतिको आङ्कलन गरी सफ्टलोनदेखि अन्य सहयोग गर्न सरकार तयार हुने बताइन् । उनले क्षतिका बाबजुद निजी क्षेत्रले अघि बढ्ने प्रण गरेकोमा प्रशंसा समेत व्यक्त गरिन् । उनले २४ गते आतङ्क फैलाएको र त्यसको छानबिन समेत हुने बताइन् ।
प्रधानमन्त्री कार्कीले भनिन् ‘व्यक्तिका घर, सम्पत्ति, सुरक्षा निकायदेखि सिंहदरबार, संसद्, अदालत जलाउने काम भयो । व्यक्तिको सम्पत्तिदेखि उद्योगी व्यापारी, इन्टरप्रेनरको सम्पत्ति जलाउने काम भयो । तिनलाई हामीले जसरी उभिन्छौँ । उभिऊ भन्न मिल्दैन । किनभने व्यक्तिको सम्पत्तिको क्षति भएर कतिपय व्यापारिक त अब उठ्नै नसक्ने अवस्थामा पुगे । त्यसैले त्यसमा पनि राज्यले विचार गर्छ ।
उनीहरूलाई कसरी उठाउने भन्नेमा हामी सोच्छौँ । कुन सहयोग दिने भन्नेमा हामी सोच्छौँ । बैंकको सफ्ट लोन दिने की अथवा केही अन्य सहयोग गरेर हुन्छ की हामी सहयोग गर्छौँ । सानासाना व्यापारीहरू पनि लुटिएका छन् । आज मैले समाचार पनि पढेँ, धेरै ब्यापरीहरुले धेरै नोक्सानी भएको छ, हामी उठ्ने कोसिस गर्दैछौं भन्नुभएछ । हामी हार्दैनौँ भन्नुभएको छ ।’
उनले निजी क्षेत्रले क्षति हुँदाहुँदै पनि आफ्नो भित्रको आन्तरिक बल देखाएकोमा धन्यवाद दिइन् । साना व्यापारीहरूलाई समेत राज्यले सहयोग गर्ने उनको भनाइ छ ।