निर्णय सच्याउँदै पूर्णबहादुरको वक्तव्य : सभापति देउवालाई स्वास्थ्यलाभको कामना

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यसम्पादन समितिको निर्णय सच्याउँदै वक्तव्य जारी गरेका छन् । सभापति शेरबहादुर देउवालाई ‘जेनजी’ प्रदर्शनकारीले घरमै प्रवेश गरेर आक्रमण गरेका थिए । घर समेत आगो लगाएपछि सुरक्षाकर्मीको उद्धारपछि गत भदौ २४ गतेदेखि उपचाररत छन् । सभापतिको अनुपस्थितिमा उपसभापति खड्काकै अध्यक्षतामा गत शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । खड्काको अध्यक्षतामा बसेको बैठकमा उपसभापतिको अध्यक्षतामा बैठक बस्नुको कारण खुलाइएको थिएन भने सभापति देउवामाथि भएको आक्रमणको भर्त्सना र स्वास्थ्यलाभको कामना पनि गरिएको थिएन । उपसभापति खड्काले आइतबार (भदौ २९)मा जारी गरेको वक्तव्यमा भने देउवा र पत्नी आरजु राणाको आक्रमणको भर्त्सना गर्दै स्वास्थ्यलाभको कामना गरिएको छ । लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रूपमा संघर्ष गरेका पार्टीका आदरणीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथिको अमानवीय र बर्बरतापूर्ण भौतिक आक्रमण निन्दनीय एवं भर्त्सनायोग्य छ,” खड्काको वक्तव्यमा भनिएको छ, उहाँहरू उपचारको क्रममा रहनु भएकोले शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । त्यसबाहेक खड्काले भदौ २३ गतेको आन्दोलनमा हिंसा मच्चिएको कारण र संलग्नता तथा २४ गतेको घटनाको यर्थाथ अनुसन्धानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । “जेनजीद्वारा भदौ २३ र २४ गते भएको प्रदर्शनमा युवाहरू सहादत हुनु र खर्बौं सम्पत्तिको तोडफोड, आगजनी भई पूर्ण क्षति हुनु अत्यन्तै दुःखद थियो । आन्दोलनको क्रममा जीवन गुमाउने युवाहरू, सुरक्षाकर्मी लगायतप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै, परिवारजनमा गहिरो समवेदना दोहोर्‍याउन चाहन्छौँ,” खड्काको वक्तव्यमा भनिएको छ, “उक्त सम्पूर्ण घटनाको छानबिन गर्न हामीले माग गरिसकेका छौँ । सरकारलाई पुनः स्मरण गराउँदछौँ ।”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *