नेपाल सरकारको भुक्तानी प्रणाली सुचारु, दसैँ अगाडि नै तलब-भत्ता पाउने
काठमाडौं । नेपाल सरकारको भुक्तानी प्रणाली सुचारु भएको छ । अर्थ मन्त्रालयले आजैदेखि भुक्तानी दिने काम थालिसकेको छ ।
उता, राजस्व सङ्कलनको काम समेत सुचारु भएको छ । धेरैजसो भन्सार विन्दु सञ्चालनमा आएका छन् । पूर्ण क्षति भएका केही आन्तरिक राजस्व कार्यालयबाहेक अन्य कार्यालय समेत सञ्चालनमा आइसकेका छन् । अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र ५ भन्सार कार्यालयमा जेनजी आन्दोलनकारीले तोडफोड गरेका थिए । चार आन्तरिक राजस्व कार्यालय र चार भन्सार कार्यालयमा भने आंशिक क्षति भएको छ । सरकारको भुक्तानी सुचारु भएसँगै सरकारको ढुकुटीबाट तलब-भत्ता पाउने सबै कर्मचारीले दसैँ अगाडि नै तलब-भत्ता पाउने भएका छन् ।
सरकारको ढुकुटीमा अनिवार्य दायित्व भुक्तानी गर्न आवश्यक पर्याप्त रकम रहेको जनाइएको छ । सरकारको अनिवार्य दायित्व अन्तर्गत तलब भत्ता र सामाजिक सुरक्षाको भुक्तानी समेत हुनेछ । अन्य दायित्वको हकमा भने सरकारले प्राथमिकताका आधारमा भुक्तानी गर्ने भएको छ । काठमाडौंमा अर्थ मन्त्रालय करिब सुरक्षित अवस्थामा छ । मुख्य भवन अगाडि रहेको सानो भवन जलाइएको छ । उपत्यका भित्रका आन्तरिक राजस्व विभाग, भन्सार विभाग र अन्य आन्तरिक कार्यालय समेत सुरक्षित रहँदा अर्थले आफ्नो कामलाई छिट्टै सुचारु गर्न सकेको हो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार शनिवारसम्म सरकारले १ खर्ब ४४ अर्ब ५८ करोड राजस्व उठाइसकेको छ । अन्य आम्दानीसहित शनिवारसम्म सरकारको ढुकुटीमा १ खर्ब ४६ अर्ब ९२ करोड संकलन भएको छ । यसै अवधिसम्म सरकारको खर्च १ खर्ब २० अर्ब ७८ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्षको पहिलो दुई महिना सकिँदासम्म सरकारको ढुकुटी बचतमै देखिन्छ । तर, दसैँ भत्तासहित अनिवार्य दायित्वको सबैभन्दा ठूलो हिस्सा भने भदौ मसान्तसम्म खर्च हुनेछ ।