प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण
काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएकी सुशीला कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गरेकी छिन् ।
मुलुकको ४२ औँ प्रधानमन्त्रीका रूपमा कार्कीले ऐतिहासिक जिम्मेवारी सम्हालेकी हुन् । सिंहदरबार पुग्दा उनलाई कर्मचारीहरूले भव्य स्वागत गरेका थिए । जनजी आन्दोलनले सृजना गरेको परिवर्तनको लहरपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते शुक्रबार कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । यो नियुक्तिलाई आन्दोलनको म्यान्डेटअनुसार भएको एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
पदभार ग्रहण गर्नुअघि प्रधानमन्त्री कार्की लैनचौरस्थित शहीद स्मारक पुगेर देशका लागि प्राण आहुति दिने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन् । उनले शहीदहरूको त्याग र बलिदानको सम्मान गर्दै अबको सरकार सुशासन, पारदर्शिता र जनहितका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गरिन् ।