बालेनका सहयोगी गृहमन्त्री, अव्यवस्थित बस्ती हटाउने महानगरपालिकाको प्रयासले नयाँ गति लिने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अव्यवस्थित बस्ती र अवैध संरचना हटाउने अभियानले अब तीव्रता पाउने भएको छ ।

मेयर शाहका निकट सहयोगी ओमप्रकाश अर्यालले गृहमन्त्रीको जिम्मेवारी सम्हालेसँगै काठमाडौं महानगरपालिकाको यो प्रयासले नयाँ गति लिने देखिएको छ । गृहमन्त्रालयमा आफ्ना विश्वासपात्रको नियुक्तिसँगै मेयर शाहलाई अव्यवस्थित सुकुम्बासी बस्ती र कानुनविपरीत बनेका संरचनाहरू हटाउन सहज हुने अपेक्षा गरिएको छ । यसले सरकारी र सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेकाहरूलाई भने ठूलो चिन्ता थपिएको छ ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा बालेन शाह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । निर्वाचित भए लगत्तै उनले काठमाडौंको सरसफाइ र सौन्दर्यीकरणलाई प्राथमिकतामा राखेर काम सुरु गरेका थिए । विशेषगरी, बागमती नदी किनारको थापाथली क्षेत्रमा रहेका अवैध संरचनाहरू हटाउन महानगरले पटक(पटक प्रयास गरेको थियो । तर, गृहमन्त्रालयको अपेक्षित सहयोग नपाउँदा यी प्रयासहरू सफल हुन सकेनन् ।

यसअघि २०७९ मङ्सिर १२ मा महानगरले थापाथलीको सुकुम्बासी बस्ती हटाउन डोजर पठाएको थियो । मेयर शाह र महानगरीय प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा भएको यो प्रयासलाई देशभरका जनताले प्रशंसा गरेका थिए । तर, बस्तीका बासिन्दाले प्रतिवाद गर्दा ढुंगामुढा भएको थियो, जसले गर्दा महानगरीय प्रहरी पछि हट्न बाध्य भयो र डोजर फिर्ता भयो ।

मेयर बालेन शाहले सुकुम्बासी बस्ती हटाउने कार्यलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । अहिलेको अन्तरिम सरकार र गृहमन्त्री अर्यालको नियुक्तिले उनलाई अनुकूल वातावरण सिर्जना गरेको छ । राजनीतिक दबाब न्यून रहेको र गृहमन्त्रालयको साथ प्राप्त भएको यो समयलाई मेयर शाहले अवैध संरचना र बस्ती हटाउन उपयुक्त अवसरको रूपमा उपयोग गर्ने अपेक्षा गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *