खरानीबाटै उठेर ‘मिसन ०८२’ मा होमिने दलहरूको तयारी

काठमाडौं । खण्डहर बनेको राजनीतिक दलका कार्यालयमा नेता–कार्यकर्ताको उपस्थिति बाक्लिन थालेको छ । जेन–जी आन्दोलनका नाममा भदौ २४ गतेको तोडफोड र आगजनीपछि विरुप बनेका पार्टी कार्यालयमा नेताहरु कार्यकर्ताहरु देखिन थालेका हुन् । जेनजी आन्दोलनले उग्र रुप लिएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका एमाले अध्यक्ष केपी शर्मा ओली भने नेपाली सेनाकै सुरक्षामा छन् । आन्दोलनसँगै ‘भूमिगत’ भएका अरु नेताहरु फर्किएका छन् । नेताहरुले नियमित काममा सुरु गरिसकेका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल भने नियमित काममा फर्किएका हुन् । दलका नेताहरुले खरानी टक्टक्याएर उठ्ने उद्घोष सुरु गरिसकेका छन् । माओवादीले त नयाँ कार्यालय नै ठड्याउने घोषणा गरेको छ । प्रचण्डले मंगलबार पार्टी कार्यालय पेरिसडाँडा पुगेर भव्य भवन बनाइने उद्घोष गरे । पार्टीको नयाँ कार्यालय भवन सिंगो पार्टीपंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यका सहयोगमा भव्य भवन बनाइनेछ,” उनले भने । उता, एकीकृत समाजवादीका अध्यक्ष नेपालले सोमबार नै पार्टी कार्यालयको निरीक्षण गरे । आलोकनगरमा पार्टी कार्यालयको निरीक्षणपछि उनले एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरुको क्षतिग्रस्त घरको निरीक्षण गरेका थिए । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा पनि नेताहरु जान थालेका छन् । एकअर्काको पार्टी कार्यालय नेता निवासको अवस्था निरीक्षण गर्न थालेका छन् । जेनजीको दुईदिने आन्दोलनले सत्ताबाट विमुख एमाले पार्टी कार्यालयमा पनि कार्यकर्ताको आवाजावत हुन थालेको हो । तोडफोड र आग्जनीका कारण अस्तव्यस्त च्यासल स्थित तुल्सीलाल भवनमा कम्युनिस्ट पार्टीको ठूलो झण्डाले एकातर्फ डडेको भाग छोपिएको छ । सोमबार पार्टीका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायत पार्टी कार्यालय पुगेका थिए । महासचिव पोखरेलले खरानीबाट उठेर अघि बढ्ने संकल्प प्रस्तुत गरे । हामी फेरि उठ्ने छौं । अझ एकताबद्ध र सशक्त भएर, अझ जनताको भावनालाई सम्बोधन गर्न सक्ने सामथ्र्यका साथ मुलुक विकास र निर्माणको यात्रामा प्रभावकारी ढंगले प्रस्तुत हुनेछ । सामथ्र्यका साथ हामी उठ्नेछौं, उठ्नुपर्दछ,” उनले भनेका थिए । सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले समयमै चुनाव गर्नुपर्ने उनले बताए । त्यसका लागि सघाउन आफूहरु तयार रहेको सन्देश पोखरेलको थियो । मंगलबार युवासंघ नेपालका अध्यक्ष क्षितिज थेबे, एमाले केन्द्रीय सदस्य तथा युवासंघका ईन्चार्ज राजिव पहरी, युवासंघाका पूर्व अध्यक्ष समेत रहेका एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेत लगायतका नेताहरु पार्टी कार्यालय पुगेका थिए । युवा संघका अध्यक्ष थेबले आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन समयमा नै हुनुपर्ने बताए । “निर्वाचन गरेर देशलाई निकास दिने विषयमा समर्थन छ, साथ छ,” उनले भने । बस्नेतले पनि समयमा नै निर्वाचन हुनुपर्ने बताए । भग्नावशेष, वडा कार्यालय, प्रहरी कार्यालय, सिंहदरबार उठाउन स्वयमेसेवीको रुपमा काम गर्ने भनाइ उनीहरुको छ । युवा संघले जेनजीलाई डिजिटल जेनेरेसनको बनाउने बताएको छ । जनेजीको नाम बद्नाम गरिएको भन्दै डिलिटल जेनेरेशन डीजी बनाउने प्रस्ताव बस्नेतको छ । थेबेले पनि युवासंघ रक्षक भएर अघि बढ्ने बताए । तपाईंहरुले राम्रो आशयका साथ मुमेन्ट गरे पनि जेनजीको नाममा जसरी षड्यन्त्र भयो पर्दाफास गर्नुपर्छ । अगाडि बढ्नुस् तपाईंहरु, हामी रक्षकको रुपमा छौं । डिजिटल जेनेरेसनको रुपमा अघि बढ्नेछौं,” उनले भने । एमालेले असोज ३ गते संविधान दिवसको अवसरमा पार्टी कार्यालय प्रांगणमा कार्यक्रम गर्ने तयारी गरेको छ । उक्त कार्यक्रममा ओलीको पनि उपस्थिति रहने बस्नेतको दाबी छ । एमालेले मिसन ०८४ को नारा लगाउँदै आएको थियो । प्रतिनिधिसभा विघटन भएर फागुन २१ मा निर्वाचन घोषणा भएपछि अब ‘मिसन ०८२’ केन्द्रित हुने नेताहरु बताउन थालेका छन् । दलहरु अब मिसन ०८४ बाट ०८२ मा केन्द्रित हुने पक्षमा देखिएका छन् । कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा जान तयार रहेको सन्देश दिइसकेका छन् । माओवादी केन्द्रका नेताहरु पनि चुनावामा जानुपर्ने अभिव्यक्ति दिन थालेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले त अर्लि इलेक्सनकै माग राखेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *