विद्रोहले आतंकित काठमाडौँ सामान्य अवस्थामा, ओली देउवा भने अझै सेनाको सुरक्षामा
काठमाडौँ । जेनजी पुस्ताका युवाहरुले गरेको आन्दोलनले आतंकित भएको काठमाडौँ सामान्य अवस्थामा आएको छ ।
जेनजी पुस्ताका युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध गरेको विरोध प्रदर्शनमा सरकारले दमन गर्दा १९ जनाको ज्यान गएको थियो । दमनपछि भड्किएको आन्दोलनकारीले राज्यका विभिन्न अंगहरु कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाका प्रशासकीय भवन कब्जामा लिएर ध्वस्त पारेका थिए । त्यतिमात्र होइन राजनीतिक दलका कार्यालय, नेताका निजी निवास, व्यवसायी भवन लगायत देशैभरिका सरकारी सम्पत्तिमा आगजनी गरेका थिए ।
उच्च सुरक्षा चुनौतीका कारण नेपाली सेनाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान मन्त्रीहरु, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललाई सुरक्षा दिएर राखेको थियो । भदौ २४ गते बिहान ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारबाट सेनाले शिवपुरीस्थित ब्यारेकमा राखेको स्रोतले बताएको छ । प्रचण्ड र माधव नेपाललाई भने सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट सेनाले उद्धार गरी सुरक्षित स्थलमा सारेको थियो । कांग्रेस सभापति देउवा र निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा चै आफ्नै निवास बुढानीलकण्ठमा थिए । आक्रोशित प्रदर्शनकारीले निवासमा आगजनी गरी देउवा दम्पतीलाई निर्घात कुटपिट गरेको अवस्थामा सेनाले उद्धार गरी उपचारका लागि अस्पताल लगेका थिए ।
यसरी जेनजी पुस्ताले गरेको आन्दोलबाट भाग्न बाध्य भएका नेताहरु अब भने सार्वजनिक भएका छन् । आजै पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सार्वजनिक भएका थिए । उनले आजै मात्र पार्टी कार्यालयको अवलोकन साथै अब नयाँ पार्टी कार्यालय बनाउने समेत बताए । त्यस बाहेक आइतबार र सोमबार गरी अन्य पूर्वप्रधानमन्त्री र मन्त्रीहरू फर्किएको उच्च स्रोतले जानकारी दिएको छ । तर सबै नेताहरु सार्वजनिक भएतापनि हालसम्मम ओली र देउवा भने सार्वजनिक भएका छैनन । विशेषगरी निवर्तमान प्रधानमन्त्री समेत रहेका खड्ग प्रसाद ओलीले भने हाल सम्म कुनैपनि प्रतिकृया समेत दिएका छैनन ।
















