प्रधानमन्त्री कार्की भारतीय समकक्षी मोदी टेलिफोन वार्ता गर्दै

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता हुने भएको छ । बिहीबार प्रधानमन्त्रीज्यूले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोनमा कुराकानी गर्दै हुनुहुन्छ, परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, फागुनमा हुने निर्वाचनको लागि आवश्यक सहायता र पुनर्निर्माणमा सहयोगलगायत विषयमा कुराकानी हुनेछ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । सोही समयमा टेलिफोनवार्ता गर्ने सहमति बनेको थियो । परराष्ट्र मन्त्रालयका अनुसार भेटमा राजदूत श्रीवास्तवले नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा कार्कीलाई भारतका प्रधानमन्त्री मोदीले पठाएको बधाई सन्देश सुनाएका थिए । भेटमा उनले दुई छिमेकी देशहरूबीचको मित्रता र सहयोगको घनिष्ठ सम्बन्धलाई अझ सुदृढ पार्न सँगै काम गर्ने भारतको प्रतिबद्धता व्यक्त गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीले कार्की प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै सामाजिक सञ्जालमार्फत र मणिपुरमा एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बधाई तथा शुभकामना दिएका थिए । मणिपुरको सभालाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले केही मिनेट नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा खर्चेका थिए । उनले मणिपुरबाट नेपालका साथीहरूसँग कुरा गर्ने बताएका थिए । हिमालयको काखमा बसेको नेपाल भारतको एक साथी हो, घनिष्ठ मित्र हो । हामी साझा इतिहासद्वारा जोडिएका छौँ, आस्थाद्वारा जोडिएका छौँ र सँगै मिलेर अगाडि बढिरहेका छौँ, मोदीले नेपाल–भारत सम्बन्धलाई प्रशंसा गरेका थिए । मोदीले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार सम्हालेकोमा १४० करोड भारतवासीहरूको तर्फबाट सुशीला कार्कीलाई बधाई दिएका थिए । उहाँले नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नुहुनेछ भन्ने मलाई विश्वास छ ।

नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीलाजीको आगमन महिला सशक्तिकरणको एक उत्कृष्ट उदाहरण हो, मोदीले भने, म आज नेपालको प्रत्येक व्यक्तिको प्रशंसा गर्दछु, जसले यस्तो अस्थिर वातावरणमा पनि लोकतान्त्रिक मूल्यमान्यतालाई सर्वोच्चमा राख्यो । गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी प्रदर्शनकारीले प्रस्ताव गरेका सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए । त्यसलगत्तै भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत उनलाई बधाई दिएका थिए । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना १ नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ, मोदीले लेखेका थिए । भारतीय प्रधानमन्त्रीले लगातर दुई दिन नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना दिएका थिए । भारतको विदेश मन्त्रालयले पनि शुक्रबार राति नै विज्ञप्ति जारी गर्दै कार्कीलाई बधाई दिएको थियो । विज्ञप्तिमा कार्कीको नेतृत्वले नेपालमा शान्ति र स्थिरतालाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरिएको थियो । नजिकको छिमेकी, लोकतान्त्रिक साथी र दीर्घकालीन विकास साझेदारको रुपमा भारत हाम्रा दुई जनता र देशहरूको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहनेछ, भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *