महामन्त्री थापाको पाँचबुँदे ब्रिफिङ र दुईबुँदे विकल्प
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कार्यसम्पादन समितिको बैठकमा वर्तमान अवस्थाका विषयमा पाँचबुँदे ब्रिफिङ गर्दै दुईबुँदे विकल्प प्रस्ताव गरेका छन् । यसअघि भर्चुअल बैठक बसिसकेको कार्यसम्पादन समितिको शुक्रबार पार्टी कार्यालयमा भौतिक उपस्थितिमै बैठक राखिएको थियो । उक्त बैठकमा महामन्त्री थापाले ‘नेपाली कांग्रेस विशेष चुनौतीपूर्ण अवस्थामा रहेको’ भन्दै पार्टी स्वयं घाइते भए पनि यही अवस्थामा तत्काल वहन गर्नुपर्ने दायित्वहरू रहेको’ उल्लेख गरेका छन् । नेपाली कांग्रेसका अगाडि गुरुत्तर दायित्व र जिम्मेवारी छन् । उनले जेनजी आन्दोलनपछि परिस्थितिमा बदलाब आएको भन्दै कांग्रेसका विशेष अदायित्व भन्दै पाँचबुँदे ब्रिफिङ राखेका छन् । भदौ २३ र २४ गते युवापुस्ताको आन्दोलनबाट व्यक्त भावना, खासगरी सुशासन, भ्रष्टाचारमुक्त देश र समाज निर्माण गर्ने दायित्व, आन्दोलनका क्रममा भएका घुसपैठ र अवाञ्छित क्रियाकलापबाट भएको धनजनको क्षतिको छानबिन गरी दोषीलाई दण्डित गर्ने र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्ने दायित्व रहेको छ,” थापाले ब्रिफिङमा भनेका छन्, लामो संघर्षपछि नेपाली जनताले बनाएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा गर्दै मुलुकलाई लोकतान्त्रिक प्रक्रियाबाटै समुन्नतिको यात्रामा डोर्याउने दायित्व र नेपाली कांग्रेसले स्थापनाकालदेखि आजसम्म जुनसुकै कठिन अवस्थामा पनि सम्झौता नगरेका राजनीतिक मूल्य–मान्यता–अहिंसा, नागरिक स्वतन्त्रता, विधिको शासन लगायतका मूल्यलाई जोगाउने दायित्व पनि रहेको छ । महामन्त्री थापाले ती दायित्व निर्वाहका लागि ‘आत्मसमीक्षा, आत्ममन्थन र आत्मसंकल्प गर्दै, विगतमा भएका गल्ती र कमजोरीलाई स्वीकार्दै, पार्टीलाई आमूल परिवर्तन गर्नुपर्ने र पार्टीको पुनर्गठन गर्नुपर्ने’ बताएका हुन् । पार्टीको पुनर्गठन भने ‘विधिसम्मत तरिकाले हुनुपर्छ, गर्न सकिने’ उनको ब्रिफिङ छ । पार्टी पुनर्गठनका लागि उनले दुईबुँदे विकल्प प्रस्तुत गरेका छन् ।
नियमित महाधिवेशन– पार्टीको विधानअनुसार पार्टीको वर्तमान कार्यसमितिको कार्यकाल मंसिरमा सकिन्छ । अब म्याद नथपौँ, यो परिस्थितिमा थप्न मिल्दैन । नियमित अधिवेशन २०८२ मंसिर मसान्तभित्र गर्न सकिन्छ, गरौँ, थापाले पहिलो विकल्पमा भनेका छन्, हालको क्रियाशील सदस्य यथावत् कायम राखेर एक महिनाको लागि नयाँ क्रियाशील सदस्यता लिने समय तोकौँ र त्यही क्रियाशील सदस्यबाट अधिवेशन गरौँ । थापाले नियमित महाधिवेशनको विकल्पमा सहमति नभए दोस्रो विकल्पमा जान प्रस्ताव गरेका छन् । विधानले केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा, निवेदन परेको तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने व्यवस्था गरेको छ,” थापाले भनेका छन्, अहिलेको विशेष परिस्थितिमा पार्टीको केन्द्रीय कार्यसमितिले नै आवश्यक निर्णय गरेर तत्काल विशेष महाधिवेशन गरौं र नयाँ नेतृत्व चयन गरौँ । उनले पार्टी पुनर्गठनमा यी दुईबाहेक तेस्रो विकल्प नै नभएको दाबी गरेका छन् । यसरी आउने नेतृत्वले मात्र अहिलेको अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने माथि उल्लेखित दायित्व पूरा गर्न सक्छ, थापाले प्रस्तावमा भनेका छन् ।