‘माइतीघर’ र ‘बलिदान’ फुलपातिमा भिड्दै, ट्रेलरले बढायो दर्शकको उत्सुकता

काठमाडौं । यस वर्षको बडादशैँको फूलपातीको दिन (असोज १३ गते) दुई बहुप्रतीक्षित नेपाली चलचित्र ‘माइतीघर’ ‘बलिदान’ एकैदिन प्रदर्शनमा आउँदैछन् । फरक फरक शैलीमा निर्माण भए पनि दुवै चलचित्र दर्शकको मन जित्न होडबाजीमा उत्रिएका छन् ।

दुबै चलचित्रका निर्माण पक्षले पोस्टर, गीत, टिजर सार्वजनिक गरेपछि अहिले ट्रेलरमार्फत प्रचार अभियानलाई तीव्र बनाएका छन् । हिजोमात्र सार्वजनिक गरिएको ‘माइतीघर’को ट्रेलरले २४ घण्टा नवित्दै दर्शकमाझ उत्सुकता थपेको छ । त्यतीमात्र होइन ‘माइतीघर’ को ट्रेलर सार्वजनिक भएको २४ घण्टा नवित्दै यता ‘बलिदान’ पक्षले पनि आफ्नो चलचित्रको ट्रेलर सार्वजनिक गरेको छ । बलिदान यसै पनि यस वर्षको बहु प्रतीक्षित चलचित्र हो । 

यद्यपि, यी दुबै चलचित्र फरक-फरक शैलीमा आधारित छन् । ‘माइतीघर’ सम्भवतः सामाजिकरपारिवारिक विषयमा केन्द्रित छ भने ‘बलिदान’ एक्सन जनरामा आधारित रहेको छ ।

आउनुहोस् दुबै चलचित्रको चर्चा गरौँ ।

‘बलिदान’ : एक्सन र देशभक्तिको भावना मिसिएको प्रतीक्षित चलचित्र

निर्देशक सन्तोष सेनको निर्देशनमा बनेको चलचित्र ‘बलिदान’ एक्सन र देशभक्तिपूर्ण कथावस्तुमा आधारित छ । चलचित्रमा चर्चित अभिनेता समिर भट्ट (विराज भट्टका छोरा) मुख्य भूमिकामा छन् । अर्पण थापा, सौगात मल्ल, महेन्द्र बुढाथोकी, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी जस्ता कलाकारहरूको दमदार उपस्थिति रहेको यस फिल्मको ट्रेलरले दर्शकमा चर्को उत्सुकता पैदा गरेको छ ।

सौगात मल्लको म आफूलाई राक्षस बन्न बाध्य पारेको छु भन्ने संवाद, समिर र सौगातबीचको तीव्र द्वन्द्व, र निर्देशक स्वयं आदिवासी पात्रको भूमिकामा देखिएको दृश्यले चलचित्रलाई थप रोचक बनाएको छ । यसअघि सार्वजनिक पोस्टर, टिजर र गीतले नै चलचित्रको प्रचारमा निकै प्रभाव जमाइसकेको छ । झन् आज सार्वजनिक भएको ट्रेलरले चलचित्र साँच्चिकै आकर्षक बनेको अनुमान गर्न सकिन्छ । 

आसुसेन फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । ‘बलिदान’लाई नेपाली चलचित्र उद्योगमै साहसी प्रयासको रूपमा हेरिएको छ, जुन अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने सम्भावना बोकेको चलचित्र पनि हो ।

‘माइतीघर’ : हास्य, प्रेम र पारिवारिक भावनाले भरिएको सामाजिक कथा

अर्कोतर्फ, निर्देशक मिलन तामाङको चलचित्र ‘माइतीघर’ हास्यरस प्रधान पारिवारिक कथामा आधारित छ । रोहित अधिकारी फिल्म्सको प्रस्तुति रहेको यस चलचित्रमा धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, केदार घिमिरे (माग्ने बुढा), बुद्धि तामाङ, श्यामाश्री शेर्पा, शिशिर वाङ्देल, युवराज लामा, रजनी गुरूङ लगायतको अभिनय देख्न सकिन्छ।

फिल्मको ट्रेलरले दर्शकलाई हास्य, माया–प्रेम र सामाजिक सन्देश सँगै तामाङ संस्कृतिको झल्को समेत दिएको छ । लेखक रामशरण पाठकको लेखन र निर्माता रविन शेरचन तथा धिरज तामाङको निर्माणमा बनेको ‘माइतीघर’ पारिवारिक दर्शकलाई लक्षित गर्दै तयार पारिएको देखिन्छ । ‘माइतीघर’ को कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र निरज कटुवाल रहेका छन्।

विधा फरक, भिडन्त समान

‘बलिदान’ ‘माइतीघर’ फरक फरक विधाका चलचित्र भए पनि एउटै मिति अर्थात् फूलपातीको दिन प्रर्दशनमा आउने भएपछि कडा प्रतिस्पर्धा हुने देखिएको छ । एकातिर एक्सन र देशभक्तिले भरिएको ‘बलिदान’, अर्कातिर हाँसो, प्रेम र पारिवारिक भावना बोकेको ‘माइतीघर’ – दुवैले ‘हामी पनि कम छैनौं’ भन्ने शैलीमा प्रचार अभियान तीव्र बनाएका छन्।

अब दर्शकको रोजाइ कुन फिल्मतर्फ झुक्ने हो, त्यो भने फूलपातीपछि बक्स अफिसबाट स्पष्ट हुने छ । अन्ततः दर्शकको मन जित्न को सफल हुन्छ भन्ने कुरा समयले देखाउनेछ । तर, ट्रेलरहरूका आधारमा दुवै चलचित्रले राम्रो आशा जगाएका छन् ।

दुवै चलचित्रलाई सफलताको हार्दिक शुभकामना !

चलचित्र ‘माइतीघर’ को ट्रेलर हेर्नुहोस्

चलचित्र ‘बलिदान’ को ट्रेलर हेर्नुहोस्

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *