संविधानलाई कमजोर बनाउन दिने छैनौँ : ईश्वर पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको बलिदानीबाट प्राप्त भएको संविधानलाई कमजोर बनाउन नदिइने बताएका छन् ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले संविधान मान्दैनौँ भन्दै विभिन्न गतिविधि हुनसक्ने भन्दै एमाले त्यसको रक्षाका लागि उभिने बताए । ‘हामी जनताको बलिदानीबाट प्राप्त गरेको संविधानलाई कमजोर हुन दिने छैनौँ । यसलाई मास्न दिने छैनौँ । यो हाम्रो अठोट र सङ्कल्प हो’, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने । उनले निर्वाचित घोषणा भइसकेकाले आफ्ना केही असहमतिका बीच पनि पार्टी निर्वाचनको पक्षमा रहेको बताए । ‘हाम्रा आफ्नै कारणले पनि चुनौती देखिएका थिए । अरूले गर्दा पनि चुनौती देखिएका थिए । अब सबै चुनौतीको सामना गरेर अगाडि बढ्छौँ’, पोखरेलले भने ।
कार्यक्रममा पार्टी महासचिव शङ्कर पोखरेलले राजनीतिक दललाई कमजोर बनाएर लोकतन्त्र अघि नबढ्ने बताए । उनले ‘जेन-जी’ प्रदर्शनका नाममा राजनीतिक दलका कार्यालयमा गरिएको आक्रमण लोकतन्त्रलाई कमजोर पार्ने सुनियोजित षडयन्त्र भएको बताए । महासचिव पोखरेलले भदौ २४ गते सिंहदरबार लगायतका प्रशासनिक भवनमा गरिएको आक्रमण नेपालको पहिचानलाई समाप्त पार्ने षडयन्त्र भएको दाबी गर्दै राम्रो नीति र कार्यक्रम लिएर आउने दललाई संविधानले नरोकेकाले सोहीअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिने ।