सामाजिक सञ्जालको भिडियोका आधारमा धारणा बनाउन हुँदैन : महामन्त्री शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाको घरमा भेटिएको रकमबारे सामाजिक सञ्जालमा देखिएको भिडियोका आधारमा धारणा बनाउन नहुने बताएका छन् । देउवाको घरमा रकम कहाँबाट र कसरी आयो भन्ने विषयको जवाफ कि बूढानीलकण्ठ (देउवा परिवार)ले दिनुपर्ने वा सरकारले नै अनुसन्धान गर्नुपर्ने उनले बताए । ‘जेनजी’ आन्दोलनका क्रममा क्षति पुगेको कांग्रेस मकवानपुरको पार्टी कार्यालय अवलोकनपश्चात् शनिबार (असोज ११) सञ्चारकर्मीसँग उनले सबै नेताको सम्पत्ति छानबिन गरिनुपर्नेमा जोड दिए । उनले विगतमा धरै राजनीतिक परिवर्तन कांग्रेसकै नेतृत्वमा भएको बताए । जेनजी पुस्ताको आन्दोलनले कांग्रेसलाई नै परिवर्तन हुन सन्देश दिएको उनले टिप्पणी गरे । उनले सरकारी संरचनादेखि व्यापारिक प्रतिष्ठानमा तोडफोड र आगजनी जेनजीको भावनाअनुरूप नभएको बताए । आफूहरू शान्तिपूर्ण आन्दोलनमा रहेको र तोडफोड, आगजनी गर्नेलाई कारबाही गरियोस् भन्ने भनाइ जेनजी पुस्ताबाटै आउनुपर्ने उनले धारणा राखे । महामन्त्री शर्माले घाइते अवस्थामा रहेको संविधानलाई जोगाउन पनि फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुनुपर्ने बताए ।
राष्ट्रपति, संविधान, राष्ट्रियसभा, प्रदेश संरचना, स्थानीय पालिकालाई निर्वाचनकै माध्यमबाट ‘रिफ्रेस’ गर्न सकिने उनको भनाइ थियो । तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने वातावरण बनाउन कांग्रेसले सहयोग गर्ने उनले बताए । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सफलता कांग्रेसले खोज्ने उनले उल्लेख गरे । अन्तरिम मन्त्रिपरिषद्मा योग्य व्यक्तिहरू आउँदै गर्दा जेनजी युवाको प्रतिनिधित्व हुन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । पार्टीको नियमित महाधिवेशन आउँदो मंसिर मसान्तभित्र गर्नुपर्ने मत बलियो रहेको उनले बताए । नियमित महाधिवेशन हुन नसकेको अवस्थामा केन्द्रीय समितिले विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था रहेको उनले उल्लेख गरे । विरोधका स्वरलाई समयमै नसुन्दा ‘ग्रेसफुल एक्जिट’बाट नेताहरू ‘फोर्सफुल एक्जिट’मा पुगेको उनले जिकिर गरे । उनले आफूहरूले पार्टी सभापति र कांग्रेसको ‘स्वास्थ्य’ अवस्था दुवैलाई ठिक बनाउने बताए । महामन्त्री शर्माले फरक–फरक विचार समेत सम्बोधन हुने गरी केन्द्रीय समितिको बैठकमार्फत साझा धारणा बनाइने बताए ।