मुक्तिनाथ क्यापिटलले ९ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । क्यापिटलका अध्यक्ष समिर शेखर बज्राचार्यको अध्यक्षतामा असोज १० गते काठमाडौंको हात्तिसारस्थित अरण्य बुटिक होटलमा सभा बसेको हो । सभाले सेयरधनीलाई चुक्ता पूँजीको ९ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।
यस्तै, सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तसम्मको वासलात, आव २०८१।८२ को नाफा(नोक्सानी हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गरेको छ । साथै, आगामी आव २०८२।८३ का लागि एनविएसएम एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय समेत सभाबाट पारित गरिएको छ ।