१६ अस्पतालमा ‘जेनजी क्लिनिक’ स्थापना
काठमाडौं । जेनजी युवा आन्दोलनको क्रममा घाइते भएकाहरुलाई परिचयपत्र वितरण सुरु गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले अस्पतालमै पुगेर घाइतेहरुलाई भेटेर परिचय पत्र वितरण सुरु गरेका हुन् । गृह मन्त्रालयको निर्णय बमोजिम जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र वितरणसँगै अस्पतालहरुमा डेडिकेटेड जेनजी क्लिनिक समेत स्थापना गरिएको छ । घाइतेहरुको फलोअप उपचार व्यवस्थित होस् भन्ने उद्देश्यले काठमाडौं उपत्यकासहित देशभरका १६ अस्पतालहरुमा जेनजी क्लिनिक स्थापना गरिएको हो । साथै जेनजी आन्दोलनका घाइतेहरुलाई अस्पतालसम्म निस्शुल्क आउ–जाउको व्यवस्था समेत मिलाइएको मन्त्रालयले जनाएको छ । जेनजी आन्दोलनका घाइतेहरुको उपचारमा सहजताका लागि अस्पतालहरुमा फोकल व्यक्तिहरु पनि तोकिएको छ । काठमाडौं उपत्यकामा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा जेन–जी क्लिनिक स्थापना गरिएको छ । कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगर, मधेश प्रदेशमा नारायणी अस्पताल वीरगञ्ज र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीमा जेनजी क्लिनिक स्थापना गरिएको छ । यसैगरी बागमती प्रदेशमा चितवनको भरतपुर अस्पताल र गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रष्ठिानमा जेनजी क्लिनिक स्थापना गरिएको छ । लुम्बिनीमा भेरी अस्पताल नेपालगञ्ज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला तथा सुदूरपश्चिममा डडेलधुरा अस्पताल र गेटा अस्पताल धनगढीमा जेनजी क्लिनिक स्थापना गरिएको छ ।
हेर्नुहोस् डेडिकेटेड जेनजी क्लिनिक स्थापना गरिएका अस्पताल र सम्पर्क व्यक्तिको नम्बर–
हेर्नुहोस् डेडिकेटेड जेनजी क्लिनिक स्थापना गरिएका अस्पताल र सम्पर्क नम्बर–
