सरकारविरुद्ध एमाले आक्रामक,आयोगको प्रतिवेदन नमान्ने घोषणा

काठमाडौं । नेकपा (एमाले) सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको छ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न भन्दै जेनजीले दबाबसहित प्रहरीमा जाहेरी दिएपछि एमाले त्यसको प्रतिकारमा उत्रिएको हो । पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङ विरुद्ध प्रहरीमा जाहेरी दिइसकेको छ । बिहीबार मात्रै एमाले भक्तपुर जिल्ला कमिटीले चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्‍यो । गुन्डुमा आयोजित कार्यक्रममार्फत एमालेले कार्की नेतृत्वको सरकार गठन संवैधानिक नभएको निष्कर्ष प्रस्तुत गरेको छ । जेनजी आन्दोलनपछि दोस्रोपटक सार्वजनिक मञ्चमा उभिएका अध्यक्ष ओलीले सरकारविरुद्ध फायर खोले । कार्यक्रमार्फत ओलीले आफूप्रति उठिरहेको केही प्र्श्नको जवाफ फर्काए । उनले कार्की नेतृत्वको सरकार त नेपालीको नभएको ठोकुवा गरे । यो कसैको प्रतिनिधि होइन । नेपालीको चाहिँ होइन, ओलीको जिकिर छ, अन्त कतैको भन्ने थाहा छैन । कसैले छानेको सरकार होइन यो । उहाँहरू एउटा खास उद्देश्यले काम गरिरहनुभएको छ । भदौ २३ र २४ गतेको आन्दोलनका बेलामा प्रधानमन्त्री रहेको ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहितलाई सरकारले उपत्यका बाहिर निस्कन रोक लगाएको थियो । राहदानी रोक्का गर्ने सरकारको कदमप्रति ओली खनिए । उनले सरकारले तमासा देखाएको भनि आक्रोश पोखे । आफूलाई पक्राउ गर्नका लागि राति राति बैठक राखिएको सुनाउँदै भाग्छ भन्ने सोचेको भनि सोधे । सुशीला कार्कीको डरले केपी ओली भाग्छ गुटुटु । के सोचेको छ ? ओलीको प्रश्न छ ।
बाबु सम्बोधन गर्दै गृहमन्त्रीलाई भने – नचम्किनु
ओलीले सरकारका गृहमन्त्री ओमप्रकाश अर्याललाई बाबु सम्बोधन गरे । र, उनले धेरै नचम्किनु भन्दै सुझाव दिए । “तपाईंहरु कतिले नाम सुन्नुभएको थियो अहिलेको गृहमन्त्री, मैले त नाम पनि सुनेको थिइन् । गृहमन्त्री भएपछि थाहा पाएँ,” ओलीले सुनाए । उनले थपे, गृहमन्त्री बाबुलाई धेरै नउत्ताउलिन, नचम्किन, सम्हालिन सल्लाह दिन चाहन्छु । राजनीति ख्याल ठट्टा होइन । देश चलाउने कुरा ख्याल ठट्टा होइन । यस कुरालाई बुझेर चल्न म सुझाव दिन्छु । ओलीले आफूहरुलाई पक्राउ गर्नका लागि भनि गृहमन्त्रीले नै जाहेरी दिन लगाएको आरोप लगाए । त्यसपछि दबाब आएको नाटक गरिरहेको आरोप ओलीको छ । त्यसो त ओलीले आफ्नो सम्पत्ति छानबिन गर्न चुनौती दिए । सरकारका मन्त्रीहरुलाई छानबिनको आँट छ भनि सोधे । एक पल्ट होइन । १० पल्ट गर सम्पत्ति छानबिन । म सोध्न चाहन्छु, “मन्त्रीजीहरु तपाईंहरुको सम्पती छानबिन गरौं ? आँट गर्नुहुन्छ ? आफ्नै सम्पति छानबिन गराउने ?”
आयोगको प्रतिवेदन नमान्ने घोषणा
एमालेले जेनजी आन्दोलनको जाँचबुझ आयोगको प्रतिवेदन नमान्ने घोषणा गरेको छ । ओलीले गौरीबहादुर कार्की नेतृत्वमा बनेको आयोगमाथि प्रश्नै प्रश्न गरे । पहिले नै केपी ओलीलाई समाउनुपर्छ । मुद्दा लगाउनुपर्छ भन्नेहरुको आयोग बनाएर गज्जबको ड्रामा गराउनुभएको छ,” ओली भन्छन् । पहिले नै आफूलाई पक्राउ गर्नुपर्छ भन्नेहरुले गरेको नाटक एमालेलाई मञ्जुर नभएको ओलीले घोषणा गरे । स–प्रमाण प्रश्न उठाएपछि नैतिकताका आधारमा आयोगका अध्यक्षले राजीनामा दिनुपर्दैन भनि ओलीले सोधे । लुसुलुसु अघि बढ्नुभएको छ । तपाईंहरु प्रतिवेदन लेख्नुस्, बुझाउनुस् । फैसला गर्नुस् । एमालेलाई मान्य छैन, हामी मान्दैनौं । गर्नुस्, के–के गर्नुहुन्छ ?” जेनजीले सार्वजनिक सम्पत्ति नजलाएको र लुकेका शक्तिको योजनामा भएको निचोड एमालेको छ ।
चुनाव हुनेमा आशंका
एमालेले २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन हुनेमा शंका व्यक्त गरेको छ । एमालेका महासचिव शंकर पोखरेलले सरकार तत्कालिन राजा ज्ञानेन्द्र शाहले जसरी चुनाव गर्ने बाटोमा देखिएको आरोप लगाए । सरकार राजनीतिक दलको विश्वास जित्ने कुरामा होइन, राजनीतिक दलहरूलाई किनारा लगाएर ज्ञानेन्द्र शाहको तरिकाको चुनाव गराउने कुरामा अघि बढ्न खोजिरहेको छ, पोखेरेलले कार्यक्रममा भने । पोखरेलले थपे, “आफ्ना मान्छेहरूलाई भूमिगत गिरोहले चुनावमा जिताएजस्तो जिताउन सकिन्छ कि भन्ने प्रकारको योजना अँध्यारो कोठामा बसेर बनाउने काम भइरहेको छ । अध्यक्ष ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले चुनावको म्यान्डेड दिएको सरकारले नेताहरुलाई पक्राउ गर्ने सपना पूरा नहुने जिकिर गरे । ओलीले राजनीतिक दलहरुसँग पौठेजोरी खोजेर कसरी चुनाव हुन्छ भनि सोधे । “चुनाव गराउनुपर्नेछ, उहाँहरू राजनीतिक दलसँग संवाद गर्नुहुन्न । राजनीतिक दलमाथि दमन र बदनाम गर्न उत्रिनुभएको छ । बद्नाम गर्न उत्रिनुभएको छ,” ओलीले भने, दलहरुसँग पौठेजोरी खेलेर, बाइपास गरेर चुनाव हुन्छ ?”
संसद् विघटनको विपक्षमा
एमाले संसद् विघटनको विपक्षमा उभिएको छ । भदौ २८ गते गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै एमाले पुनर्स्थापनाको पक्षमा उभिएको हो । अध्यक्ष ओलीले संसद् पुनस्र्थापनाको विकल्प नभएको जिकिर गरे । देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढंगले विघटन गरेको संसद् तत्काल फिर्ता गर्ने मागलाई राखेर नै अगाडि बढ्नेबाहेक अर्को विकल्प छैन । उनले नेपाली कांग्रेस पनि सोही बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे । आउँदो फागुन २१ मा निर्वाचन नभएमात्रै संसद् पुनर्स्थापनको माग गर्नुपर्ने सुझाव आएको ओलीले बताए । तर, फागुन २१ नकुर्ने ओलीले स्पष्ट पारे । संसद् विघटन असंवैधानिक, गलत छ । गैरकानुनी छ । अलोकतान्त्रिक छ, देशको हितको विरुद्धमा छ । हामीलाई थाहा छैन र ? फागुन २१ पर्खनु परेको छैन । ओलीले विगतमा आफू प्रधानमन्त्री रहँदा दुईपटक संसद् विघटन गरेका थिए । सर्वोच्च अदालतले ओलीले दुवै पटक गरेको विघटन बदर गरेको थियो । जेनजी आन्दोलनपछि ओलीले संसद् विघटनको विरोधमा सार्वजनिक अभिव्यक्ति दिएका हुन् ।
पार्टी पुनर्गठनको माग गर्नेलाई जवाफ– सडकमा नकराउनू
सरकारमाथि खनिएका ओलीले पार्टी पुनर्गठनको विषयमा उठिरहेको प्रश्नबारे भने मौन रहे । प्रदेश, जिल्लाका नेताहरुसँगको भर्चुअल बैठकमा आफूले सक्दासम्म नेतृत्वमा नै रहने बताएका ओली सार्वजनिक रुपमा बोलेनन् । एमालेमा केही नेताहरुले पार्टी पुनर्गठनको विषयमा सामाजिक सञ्जामालमार्फत पनि धारणा राखिरहेका छन् । त्यसको जवाफ महासचिव पोखरेलले दिए । उनले बोल्ने नेताहरुलाई पार्टीको विधिभित्र रहेर विश्वास जित्न निर्देशन दिए । सडकमा तमासा नदेखाउन चेतावनी दिए । “विधान महाधिवेशन सम्पन्न गरेका छौँ । महाधिवेशनको सँघारमा छौँ, कसैलाई लाग्दछ । म पार्टीमा योग्य छु भने महाधिवेशनमा उसले कार्यकर्ताको विश्वास जित्ने प्रणाली छँदै छ, पोखरेलले भने, सडकमा कराएर हिँड्न पर्दैन । सडकमा तमासा देखाउनुपर्दैन । पोखरेलले संकटका बेला विभाजन नभएर एकताको खाँचो आवश्यक रहेको बताए । नेतृत्वको गतिशीलतामा एमालेमाथि प्रश्न उठाउने ठाउँ नभएको जिकिर गरे । एमालेले नेता जन्माउँदै आएको भन्दै भोलि बस्ने सचिवालय बैठकले एकताको सन्देश दिने दाबी पनि उनले गरे । पार्टी पुनर्गठनको पनि समय आउने पोखरेलको भनाइ छ ।
शक्ति प्रदर्शन गर्ने
एमालेले सरकारले प्रतिशोध साँधेको निष्कर्षसहित शक्ति प्रदर्शनको तयारी गरेको छ । यही असोज २५ गते काठमाडौं उपत्यकामा मोटरसाईकल र्‍याली निकाल्ने तयारी गरेको छ । पोलिट्ब्युरो सदस्य महेश बस्नेतका अनुसार तिनकुनेबाट असोज २५ गते दिउँसो ३ बजे र्‍याली निकाल्ने तयारी भएको छ । स्थायी कमिटी सदस्य भानुभक्त ढकालले पार्टीविरुद्ध षड्यन्त्र जारी रहे प्रतिवाद गर्ने बताए । जनसंगठन संयन्त्रका प्रमुख समेत रहेका ढकाललेराष्ट्रिय राजनीतिमा ‘कू’ भएको भन्दै त्यसविरुद्ध खबरदारी गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय राजनीतिमा भएको ‘कू’प्रतिको सावधानीमा नेपाली जनतालाई सचेत गराउनका निम्ति हामीले खबरदारी गर्न विलम्ब गर्नु हुँदैन । षड्यन्त्र जारी रह्यो भने त्यसको विरुद्ध प्रतिवाद गर्नका निम्ति एमालेसँग आबद्ध जनवर्गीय संगठन, जनप्रतिनिधिहरू मात्रै होइन । पार्टीका लाखौँलाख सदस्यहरू पनि सडकमा उत्रिनको निम्ति तयार हुनुपर्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *