गोल्यान ग्रुपले जेनजी आन्दोलनका शहीद परिवारलाई शिक्षा र स्वास्थ्यमा सघाउने

काठमाडौं । गोल्यान ग्रुपले २३ र २४ भदौको जेनजी आन्दोलनमा शहीद भएका परिवारका लागि शिक्षा र स्वास्थ्यमा आधारित सहयोग कार्यक्रम सार्वजनिक गरेको छ । ग्रुपले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी यस्तो घोषणा गरेको हो । ‘भावनात्मक रूपमा हामी सँगै छौं, सँगै उभिन चाहन्छौं,’ विज्ञप्तिमा छ, ‘हामी शहीद परिवारप्रति सहकार्यको हात अघि बढाउन चाहन्छौं ।’ गोल्यान ग्रुपका कर्पोरेट अफेयर्स एन्ड कम्युनिकेसन्स प्रमुख ज्योति गैरेले शहीदका दाजुभाइ–दिदीबहिनी र सन्तानको अध्ययन तथा उज्ज्वल भविष्यका लागि १२ कक्षासम्म निःशुल्क शिक्षाको प्रबन्ध गर्ने र छात्रवृत्ति कार्यक्रममा सहभागी बालबालिकाको रुचि र क्षमता अनुसार अतिरिक्त क्रियाकलापमा आवश्यक सहायता प्रदान गर्ने बताइन् ।

त्यसैगरी शैक्षिक सहयोग आवश्यक नपर्ने शहीदका आमाबुबाका लागि स्वास्थ्य बीमामार्फत उनीहरूको दीर्घकालीन स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने ग्रुपको भनाइ छ । ‘यस कार्यक्रम अन्तर्गत शैक्षिक शुल्क बेहोर्नुका साथै बालबालिकाको रुचि र क्षमता पहिचान गरी अन्य अतिरिक्त क्रियाकलापमा पनि सहयोग गरिने छ,’ गैरेले भनिन्, ‘हरेक बालबालिकामा साहसका साथ नेतृत्व गर्ने, समाजलाई रूपान्तरण गर्ने प्रतिभा रहेको हुन्छ, हामी उनीहरूमा निहित प्रतिभालाई प्रोत्साहन गर्न चाहन्छौं । उनका अनुसार शैक्षिक सहायतामा नसमेटिएका शहीदका अभिभावकलाई स्वास्थ्य बीमामार्फत उनीहरूको दीर्घकालीन स्वास्थ्य र सुरक्षा सुनिश्चित गरिने छ । ‘कतिपय शहीदका अभिभावक सन्तानविहीन अवस्थामा पुगेका छन्, उनीहरूलाई दीर्घकालीन स्वास्थ्यको खाँचो छ,’ उनले भनिन्, ‘त्यसैले हामीले स्वास्थ्य बीमा कार्यक्रम पनि सँगसँगै ल्याएका छौं । गोल्यान ग्रुपले प्रत्येक प्रभावित परिवारको गोपनीयता र मर्यादालाई उच्च प्राथमिकता राख्दै कुनै पनि नाम वा तस्वीर सार्वजनिक नगर्ने जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *