मुक्तिनाथ विकास बैंक बन्यो जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार
काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बनेको छ । कात्तिक ९ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि बैंक र जनकपुर बोल्ट्सबीच साझेदारीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यस साझेदारीमार्फत नेपाली क्रिकेटको विकासमा सहयोग पु¥याउनुका साथै समुदायसँगको सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको बैंकले जनाएको छ। स्थानीय खेल प्रतिभालाई प्रोत्साहन गर्दै युवा सशक्तीकरणमा योगदान पु¥याउने उद्देश्यले सहकार्य गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले क्रिकेटमार्फत समुदायसँग जोडिन र प्रतिभाशाली युवालाई अघि बढाउन बैंक प्रतिबद्ध रहेको बताए । एनपीएलको तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको जनकपुर बोल्ट्ससँग सहकार्य गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ । जनकपुर बोल्ट्सको सञ्चालक कम्पनी ड्रिम स्पोट्र्स प्रालिका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले समुदायसँग निकट सम्बन्ध रहेको मुक्तिनाथ विकास बैंकलाई आधिकारिक बैंकिङ साझेदारका रूपमा पाउनु टोलीका लागि महत्वपूर्ण भएको बताए ।
बैंकको ‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्दछ’ भन्ने सोच र मधेशका जनतासँग जोडिने जनकपुर बोल्ट्सको प्रयासबीच समानता रहेको उनले उल्लेख गरे। यस सहकार्यले मधेशका युवा प्रतिभालाई प्रोत्साहन गर्ने दुवै संस्थाको साझा प्रतिबद्धतालाई थप बलियो बनाउने उनको विश्वास छ । एनपीएलको पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले तेस्रो संस्करणमा पुनः उपाधि जित्ने लक्ष्य राखेको छ । मुक्तिनाथ विकास बैंकसँगको साझेदारीले टोलीलाई मैदानभित्र र बाहिर दुवैतर्फ थप ऊर्जा प्रदान गर्ने खतिवडाले बताए । बैंकले यस सहकार्यलाई खेलकुदमार्फत समुदायसँगको सम्बन्ध विस्तार गर्ने र नेपाली क्रिकेटको व्यावसायिक विकासमा योगदान पु¥याउने अवसरका रूपमा लिएको छ । ग्राहककेन्द्रित सेवा, नवीनता र वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै आर्थिक तथा सामाजिक विकासमा सहयोग गर्ने प्रतिबद्धता पनि बैंकले व्यक्त गरेको छ ।

















