हिमालयन बैंकमा रहेको हबिबको शेयर नेशनल लाइफलाई बेच्न स्वीकृत

काठमाडौं । हिमालयन बैंकको संस्थापक शेयर नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई बिक्रि गर्न पाकिस्तानको हबिब बैंकलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । हिमालयनको बैंकको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता शेयर ११८ रुपैयाँ ८८ पैसामा किनबेचका लागि हबिब र नेशनल लाइफबीच सम्झौता भएको थियो । दुवै पक्षबीच भएको सम्झौता अनुसार कारोबार गर्न राष्ट्र बैंकले स्वीकृति दिएको बैंकले जनाएको छ। बैंकले अब हबिब बैंकको शेयर नेशनल लाइफलाइ हस्तान्तरणको प्रक्रिया अघि तयारी समेत गरेको छ ।बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)को प्रावधानअनुसार बैंक, वित्तीय संस्था सञ्चालनको ५ वर्षसम्म संस्थापक शेयर विक्री गर्न पाइँदैन ।

त्यसपछि पनि संस्थापक शेयर संस्थापक समूहमै रहने गरी विक्री नभएको अवस्थामा मात्र बाहिर विक्री गर्न पाउने प्रावधान छ । यस्तै २ प्रतिशतभन्दा बढी शेयर स्वामित्व भएका कम्पनी तथा संगठित संस्थाको शेयर विक्रीका लागि राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्छ । हिमालयन बैंकले गत जेठ ३० गते ३५ दिने सूचना जारी गरी हबिबको नाममा संस्थापक शेयर खरीदका लागि संस्थापक शेयरधनीबाट प्रस्ताव आह्वान गरेको थियो । सूचनामा बैंकको शेयर मूल्य न्यूनतम मूल्य प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसा तोकिए पनि नेशनल लाइफले प्रतिकित्ता ६ रुपैयाँ ८ पैसा बढीमा खरीद गर्ने प्रस्ताव गरेको हो । हाल हिमालयन बैंकमा नेशनल लाइफको १ दशमलव २५ प्रतिशत शेयर छ । यो शेयर खरीदपछि हिस्सा १४ प्रतिशत पुग्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *