नेपाल टेलिकमले ल्यायो पोस्टपेड ग्राहकका लागि ‘रिकरिङ सजिलो अनलिमिटेड प्याकेज’
काठमाडौं । नेपाल टेलिकमले ग्राहकको माग र सहजताका लागि जीएसएम पोस्टपेडमा ‘रिकरिङ सजिलो अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ । नयाँ योजना २०८२ असोज ३१ गतेदेखि लागू हुनेछ । टेलिकमले पहिले सञ्चालनमा रहेका सजिलो अनलिमिटेड प्याकेजहरू — ६९९, ७९९, ९९९, १४९९ र एक्जेक्युटिभ प्याक — लाई मुख्य अफरका रूपमा लिएर स्वचालित रूपमा रिन्यु हुने सुविधा सुरु गरेको हो । अब यी प्याकेजहरूको समयावधि समाप्त भएपछि स्वतः पुनः खरिद (रिन्युवल) हुनेछ । नयाँ प्रणालीअन्तर्गत पहिलो पटक प्याकेज खरिद गर्दा अंग्रेजी महिनाको १५ तारिखलाई आधार मानेर प्रो–रेटेड आधारमा रकम काटिनेछ । त्यसपछि प्रत्येक महिनाको १५ तारिखमा स्वचालित रूपमा सोही प्याकेज रिन्यु हुनेछ। यद्यपि उक्त मितिमा बिल तयार गर्दा ग्राहकको उपलब्ध क्रेडिट लिमिट पर्याप्त नभए सेवा अवरुद्ध हुनेछ ।
भुक्तानी गरेपछि मात्रै सेवा पुनः सुचारु हुने व्यवस्था गरिएको छ । ग्राहकले आवश्यक परे थप डाटा वा एसएमएसका लागि अन्य प्याकेज खरिद गर्न सक्नेछन् । त्यस्तै, बढी वा कम संसाधन भएका अन्य रिकरिङ प्याकेज वा साबिकका नर्मल डेटा र एसएमएस प्याकेज पनि प्रयोग गर्न सकिनेछ। यदि एउटा रिकरिङ प्याकेज सक्रिय अवस्थामा अर्को रिकरिङ प्याकेज खरिद गरियो भने नयाँ प्याकेज पेन्डिङ स्थितिमा रहनेछ र आगामी अंग्रेजी महिनाको १५ तारिखमा मात्रै सक्रिय हुनेछ । तर, सामान्य प्याकेज लिएको अवस्थामा छोटो भ्यालिडिटी भएको प्याकेजको संसाधन पहिले खर्च हुनेछ । ग्राहकले चाहेमा जीएसएम पोस्टपेड अफर सब्सक्राइब गरी ‘रिकरिङ सेवा’ बन्द गर्न पनि सक्नेछन् । रिकरिङ सजिलो अनलिमिटेड प्याकेज सुचारु गर्न 14152*4# डायल गरी छनोट गर्नुपर्नेछ । नेपाल टेलिकमले उक्त योजनाबाट ग्राहकले सजिलै आफ्ना सेवाहरू निरन्तर उपयोग गर्न सक्ने र समयमै रिन्युवलका झन्झटहरू कम हुने अपेक्षा व्यक्त गरेको छ ।