कुन लोकतन्त्रले थुन्छ म हेर्छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आउँदो फागुन २१ गते निर्वाचन गर्ने भनेर झुटको खेती गरिरहेको आरोप लगाएका छन् । सरकारले राजनीतिक दललाई निषेध गरेर चुनाव गराउने भन्दै हिँडेर आमजनतालाई ढाँटने काम गरिरहेको उनको जिकिर थियो । एमाले मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनले निर्वाचन गराउने सोच सरकारसँग नभएकाले आफ्नो पार्टीले प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई अघि बढाउनुपरेको तर्क समेत गरे । ‘जेनजी’ आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता गराउन नसक्ने सरकारले निर्वाचन गराउने भनेर नाटकीय गतिविधि गरिरहेको उनले टिप्पणी गरे । अध्यक्ष ओलीले आफूलाई सरकारले काठमाडौं उपत्यकाबाहिर नजान प्रतिबन्ध लगाए पनि आवश्यक परेका बेला देशको जुनै सहरमा घुम्न जान सक्ने बताए । चुनाव गराउने । लुटिएका हतियार कहाँ छ ? राजनीतिक नेताहरूलाई चुनावमा जान दिँदैनन् । राजनीतिक दलहरूले चुनावमा भाग नलिएर आफैँ मात्रै भाग लिएर चुनावको नाटक गर्ने । कति राम्रो ड्रामाको परिकल्पना । तसर्थ यस्ता परिकल्पना जनतालाई झुक्याउने, जनता ठग्ने मेलो मात्रै हो । बर्मामा ६ महिनामा चुनाव गराउँछु भनेको कति वर्ष भयो रु जेनजीको नाममा आन्दोलन गर्ने, जेनजीले नेपालमा के गर्‍यो ? जेनजी आमैलाई प्रधानमन्त्री बनायो । बंगलादेशमा शेख हसिना ७५ वर्षकी बुढी भइन् भनेर बेस्सरी नारा लगायो । बुढी भइन्, हुँदैन भनेर ८५ वर्षका हजुरबालाई फ्रान्सबाट झिकाएर शासक बनाए । जेनजीले के ७५ कालाई हटाएर ८५ का लागि ल्याउन आन्दोलन गरेको थियो ? त्यो पनि देशभित्र होइन, फ्रान्समा बसिरहेकालाई । अहिलेको सरकारले त्यस्तै सोचेको होला हामीलाई । याद रहोस्, मैले अस्ति नै भनेको थिएँ– यस्ता जग नै नभएको असंवैधानिक सरकारलाई छोडेर हामी विदेश भाग्छौँ ? हामी त देशभित्र बसेर जेलमा बसेर होस् कि भूमिगत बसेर होस कि जसरी होस् देशभित्रै बसेर संघर्ष गरेर आएका शक्ति हो । त्यसकारण हामी त्यस्तो कमजोर खालका हुतीहारा होइनौँ । अनि, चुनाव गराउने रे । झापामा मेरो घर जलाइयो, अनि हेर्न जान परेन ? त्यहाँ जान पनि नपाउने ? काठमाडौं उपत्यकाबाहिर जान नपाउने ? क्या गज्जबको सरकार छ । मलाई जति बेला काम पर्छ, त्यति बेला म साँगा कट्ने होइन, नेपालको सहरभित्र जहाँ पनि घुम्न जानेछु । के कानुनले समाउँछ, के कानुनले थुन्छ, कुन लोकतन्त्रले थुन्छ ? त्यो म हेर्छु । जथाभावी गर्ने, मनपरी गर्ने । कहाँबाट ल्याएको यो देश ? हाम्रो होइन । मौखिक आदेशमा जे पनि गर्न पाइन्छ ? हदबन्दी गर्ने, चुनावमा जान नदिने, दलहरूलाई चुनावमा भाग लिन नदिने अनि फागुन २१ मा चुनाव गर्ने ? पोलिटिकल पार्टीहरूसँग संवाद नगर्ने, निषेध गर्ने । दमन गर्ने । अनि, फागुन २१ मा चुनाव हुन्छ भन्छ । यसरी सरकारले दिन दुनियालाई ढाँटेको हो । सोच नै यस्तै हो भने छोडिदिनुस् यो काम लाग्दैन । ढाँटेको हो भने जनता सचेत छन्, काम लाग्दैन । यो चुनाव हुनेवाला छैन । त्यसकारण हामीले विघटित प्रतिनिधिसभा पुनर्स्थापना भनेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *