चुनाव गराउन सबै पक्ष जिम्मेवार बनौं : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन आग्रह गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेल र चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शनिबार शीतलनिवासमा भएको छलफलपछि उनले सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन आग्रह गरेकी हुन् । ‘फागुन २१ मा निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको छ । तयारी अझै द्रूततर गतिमा अघि बढाइँदै छ,’ प्रधानमन्त्रीले एक्स (ट्विटर) मा लेखेकी छन्, ‘सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहौँ ।’
राष्ट्रपति पौडेल, गृहमन्त्री र अन्य मन्त्रीहरूसमेतको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचनको तयारी र सुरक्षा अवस्थाका विषयमा गम्भीर छलफल गरिएको र चुनावको वातावरण तयार गर्न भइरहेका प्रयासको समीक्षा भएको पनि उल्लेख गरेकी छन् । प्रधानमन्त्री कार्कीले सबै सुरक्षा प्रमुखहरुले उच्च मनोबलका साथ सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराएको भन्दै चुनावको वातावरण बनाउन राजनीतिक तहबाटै पहलकदमी लिइएको र राजनीतिक दलहरूसँग संवादको सुरुवात भएको पनि बताएकी छन् ।