नेतृत्व छाड्न तयार छु : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अध्यक्ष पद छाड्न तयार रहेको बताएका छन् । पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन् । अध्यक्ष पद आफ्ना निम्ति सामान्य भइसकेको उनले उल्लेख गरे । माओवादीमा प्रचण्डले नेतृत्व छाड्नुपर्ने आवाज उठाउन थालिएको छ । सोही आवाजलक्षित उनले देश बचाउन आफू जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताए । उनले अरूलाई पनि त्याग गर्न तयार रहन आग्रह गरे ।
कतिपय मानिसहरूले भन्ने गर्छन्– पार्टी अध्यक्ष छोड् । म पार्टी अध्यक्ष मात्रै होइन, के बलिदान गर्नपर्छ म गर्न तयार छु । आजै म तपाईंहरूको अगाडि घोषणा गर्न चाहन्छु । देश बच्न पर्यो । हामीलाई अध्यक्ष, पद, कार्यकारी यो धेरै सानो कुरा भइसक्यो । उनले अगाडि भने, मैले यिनै कुरा विचार गरेर नै केन्द्रीय समितिलाई आयोजक समितिमा, अध्यक्षलाई संयोजकमा । अधिवेशनसम्म जाँदा जे परिवर्तन गर्नुपर्छ, जस्तोसुकै त्याग गर्न म तयार छु, मैले भनिराखेको छु । म सबैलाई पनि राष्ट्रको निम्ति त्याग, देशको निम्ति त्याग गर्न तयार रहन पनि म सबैसँग अपिल गर्दछु । उनले पार्टी कार्यकर्तालाई विचलित नहुन पनि आग्रह गरे ।