सरकारले उचित वातावरण बनाए कांग्रेस निर्वाचनमा सहभागी हुने कावा सभापति खड्काको दावी
काठमाडौं । सुर्खेतमा मंगलबार आयोजित त्यहाँका पूर्वपार्टी सभापति गोविन्दबहादुर मल्लको १३औं पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले उचित वातावरण बनाए आफ्नो पार्टी निर्वाचनमा सहभागी हुने बताएका छन् । उनले चुनावका लागि बन्नुपर्ने सबै वातावरण बने पार्टी चुनावमा जान तयार रहेको बताएका हुन् । हालसम्म सरकारले चुनाव गराउने भरपर्दो कामहरू भने नगरेको कावा सभापति खड्काको भनाइ थियो ।
सरकारले चुनाव गराउने हो भने पवित्र उद्देश्यसहित जेनजीले गरेको प्रदर्शनमा घुसपैठ गरेर लुटिएका हतियारहरू फिर्ता, प्रहरी र सुरक्षा निकायको मनोबल बढाउनुपर्नेमा जोड दिँदै उहाँले चुनावमा भाग लिने दलहरूलाई विश्वासमा लिइ आममतदातामा सुरक्षाको प्रत्याभूति गराउनुपर्ने सुझाव दिए । कावा सभापति खड्काले सरकार चुनावको वातावरण बनाउन छोडेर पार्टीका नेताहरूमाथि पूर्वाग्रही तरिकाले लाञ्छना लगाउने, भ्रम सृजना गर्ने र अन्योललाई बढाउने काममा लागेको आरोप लगाए । कावा सभापति खड्काले पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले चुनाव, पार्टीको अधिवेशन, वर्तमान परिस्थितिबारे उपयुक्त निर्णय गर्ने पनि उल्लेख गरे ।