थप सात लाख राहदानी खरिद गर्न सम्झौता

काठमाडौं । राहदानी विभागले थप सात लाख राहदानी खरिद गर्न आपूर्तिकर्ता कम्पनीसँग सम्झौता गरेको छ ।सम्झौताअनुसार, आगामी तीन हप्ताभित्रै राहदानीको पहिलो किस्ता आउने गरी क्रमशः थप राहदानी आपूर्ति हुने भएको छ । विभागले अन्तरिम व्यवस्थापनका लागि बाध्यात्मक रूपमा केही समयदेखि गरेको राहदानीको उत्पादन कटौती हटाएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले अन्तरिम अवधिका लागि हालकै आपूर्तिकर्तासँग सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको थियो । राहदानी विभागले यसअघि दैनिक एक हजारको संख्यामा अपोइन्टमेन्ट डेट खोल्ने गरेको थियो । सेवाग्राहीको मागअनुसार सो संख्यालाई विभागको दैनिक क्षमताअनुसार बढाई सेवाग्राहीहरूलाई पर्याप्त राहदानी आवेदन उपलब्ध गराउँदै लगिने जनाएको छ ।

यसका लागि विभागमा उपलब्ध जनशक्तिलाई आवश्यकताअनुसार अतिरिक्त समय काममा लगाई यथा शीघ्र राहदानी आपूर्ति सहज तुल्याउने व्यवस्था मिलाइने भएको छ । विदेशस्थित नेपाली नियोगमा राहदानीका लागि आवेदन दिएका आवेदकहरूको राहदानी साबिककै हिसाबमा एक,दुई हप्ताभित्रमा छपाइ गरी पठाइने व्यवस्था मिलाइने विभागले सूचना जारी गर्दै भनेको छ । विभागका अनुसार, जिल्ला र इलाका प्रशासन कार्यालयबाट आवेदन दिने आवेदकहरूको हकमा कम्तीमा कात्तिक १५ गतेसम्म आवेदन दिने आवेदकहरूको राहदानी दुई हप्ताभित्र पठाइने व्यवस्था मिलाइने छ । उक्त मितिपछि आवेदन दिने आवेदकहरूको राहदानी साबिक बमोजिम क्रमशः छपाइ गरी पठाइने व्यवस्था मिलाइने जनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *