जेलेन्स्कीलाई ट्रम्पको अल्टिमेटम– २७ नोभेम्बरभित्र शान्ति प्रस्ताव नमाने अमेरिकी समर्थन गुम्छ
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्यका लागि युक्रेनसमक्ष कडा सर्त राखेका छन् । ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई वासिङ्टनले तयार पारेको २८ बुँदे शान्ति प्रस्ताव २७ नोभेम्बरभित्र स्वीकार गर्न अल्टिमेटम दिएका छन् । फक्स न्युजसँगको कुराकानीमा ट्रम्पले आउँदो जाडोमा हुने रक्तपात रोक्न तत्काल कदम चाल्नुपर्ने बताए । उनले आफूहरूको प्रस्ताव स्वीकार नगरिए युक्रेनले वासिङ्टनको समर्थन गुमाउने सम्भावना रहेको बताएका छन् । ट्रम्पले अमेरिकी शान्ति योजना रुसको पक्षमा देखिए पनि जेलेन्स्कीसँग यसलाई स्वीकार गर्नुको विकल्प नरहेको जिकिर गरे । युक्रेनले आफ्नो भूभाग गुमाइरहेको र शान्ति सम्झौता नगरे अझै धेरै गुमाउनुपर्ने दाबी ट्रम्पको छ । उता जेलेन्स्कीले शान्ति स्थापनाका लागि अमेरिका र युरोपका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग मिलेर काम गर्न आफूहरू तयार रहेको बताएका छन् । युरोपेली मुलुकहरूले पनि युक्रेनलाई निरन्तर साथ दिने प्रतिबद्धता दोहोर्याएका छन् । जर्मनी, फ्रान्स र बेलायतका नेताहरूले जी–७ सदस्यहरूसँग परामर्श गर्दै रुसी आक्रमणलाई युरोपको अस्तित्वकै लागि खतरा मानेका छन् । उनीहरूले जुनसुकै परिस्थितिमा पनि युक्रेनको पक्षमा उभिने आश्वासन दिएका छन् ।
वालस्ट्रिट जर्नलबाट ।
















