राष्ट्रिय सहकारी बैंकको एकाइ स्तरमा भएको २२औँ वार्षिक साधारण सभा सात वटै प्रदेशमा सम्पन्न

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको एकाइ स्तरमा भएको २२औँ वार्षिक साधारण सभा शनिवार सात वटै प्रदेशमा एकैसाथ सम्पन्न भएको छ । प्रदेश अन्तर्गत एकाइहरूमा भएको साधारण सभा कोशी प्रदेशका सम्पूर्ण जिल्लाहरूको होटेल मनास्लु इन विराटनगर ४, मोरङमा, मधेस प्रदेशका सम्पूर्ण जिल्लाहरूको गौतम होटल , बर्दिबास १, महोत्तरीमा सम्पन्न भएको छ । त्यसैगरी बागमती प्रदेशका सम्पूर्ण जिल्लाहरूको बत्तिसपुतली काठमाडौंमा, गण्डकी प्रदेशका सम्पूर्ण जिल्लाहरूको पोखरा दीप सागर होटेल रेस्टुरेन्ट एन्ड बार प्रा. ली कास्कीमा, लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाहरूको द दरबार लन प्रा.ली., तिलोत्तमा ३, शान्तिचोक, रुपन्देहीमा, कर्णाली प्रदेशका सम्पूर्ण जिल्लाहरूको जिल्ला समन्वय समितिको सभा हल वीरेन्द्रनगर, सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जिल्लाहरूको रिद्धिसिद्धी पार्टी प्यालेस रातोपुल, धनगढीमा भएको थियो । साधारण सभामा बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०८१।०८२ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८२।०८३ को प्रस्तावित बजेट तथा कार्यक्रम, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीले प्रस्तुत गर्नुभयो । त्यसैगरी बैंकको विनियम संशोधन सहितको पुनर्लेखन, कार्यविधिहरू थप तथा संशोधन बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले प्रस्तुत गर्नुभयो । साधारण सभाको अवसरमा बैंकले विभिन्न विधाका राष्ट्रिय तथा प्रदेश स्तरीय सम्मान तथा पुरस्कारहरू वितरण गरेको छ । साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१।०८२ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८२।०८३ को प्रस्तावित बजेट तथा कार्यक्रम, लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजकद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१।०८२ को प्रतिवेदन, आर्थिक वर्ष २०८१।०८२ लेखापरिक्षण प्रतिवेदन सहित साधारण सभामा प्रस्तुत १५ वटा कार्यसूचीहरू तथा थप कार्यसूचीहरू सबै प्रदेशहरूबाट सर्वसम्मत पारित भएका छन् । बागमती प्रदेश अन्तर्गतको सभामा प्रस्तुत भएको प्रतिवेदनहरू भर्चुअल माध्यमबाट अन्य प्रदेशको साधारण सभामा हेर्ने व्यवस्था मिलाइएको थियो । प्रदेश स्तरको एकाइ साधारण सभाबाट मङ्सिर १३ गते हुने केन्द्रीय सभाको निर्णय प्रमाणित गर्न सबै प्रदेशबाट प्रतिनिधिहरू छनौट भएका छन् । सात वटै एकाइ साधारण सभामा सदस्य सहकारी संघ संस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कोशी प्रदेशमा बैंकका सञ्चालक एवम् प्रदेश संयोजक अमृता सुब्बा, मधेस प्रदेशमा आयोजित कार्यक्रमको अध्यक्षता बैंकका सञ्चालक एवम् प्रदेश संयोजक विश्वनाथ मण्डल, बागमती प्रदेशको एकाइ सभामा बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीको अध्यक्षता रहेको थियो । त्यसैगरी गण्डकी प्रदेशमा आयोजित कार्यक्रमको अध्यक्षता बैंकका सञ्चालक पार्वती थापा मगर, लुम्बिनी प्रदेशमा भएको कार्यक्रमको अध्यक्षता बैंकका सञ्चालक विजया धिताल, कर्णाली प्रदेशमा भएको कार्यक्रमको अध्यक्षता बैंकका सञ्चालक एवम् कर्णाली प्रदेश संयोजक काली बहादुर महातारा र सुदूरपश्चिम प्रदेशमा भएको कार्यक्रमको अध्यक्षता बैंकका सञ्चालक तारा गुरुङले गर्नुभएको थियो । प्रदेश स्तरमा आयोजित कार्यक्रममा बैंकको लेखा सुपरिवेक्षण समितिका सदस्य, बैंकको केन्द्रीय उप–समितिका संयोजक तथा सदस्य, राष्ट्रिय सहकारी महासंघका प्रतिनिधि, विषयगत केन्द्रीय सहकारी संघका प्रतिनिधिहरू, प्रदेश सहकारी संघ, विषयगत प्रदेश सहकारी संघ, जिल्ला सहकारी संघ, विषयगत जिल्ला सहकारी संघका प्रतिनिधिहरू तथा शाखा समन्वय उपसमितिका संयोजक तथा सदस्यहरूको सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *