मधेश प्रदेश सभा बैठक बस्न ढिलाइ, भवन परिसर र वरिपरिको सुरक्षा व्यवस्था कडा
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनका लागि बोलाइएको प्रदेश सभा बैठक बस्न ढिलाइ भएको छ । बिहान ८ बजे बोलाइएको बैठक पौने १० बजेसम्म पनि सुरु भएको छैन । आज प्रदेश सभा भवन परिसर र वरिपरिको सुरक्षा व्यवस्था कडा पारिएको छ । बैठक बस्नुअघि तालिम प्राप्त कुकुरबाट सुरक्षा जाँच गरिएको छ । यसअघि जितेन्द्र सोनलले विश्वासको मत लिने दिनमा पनि एकपटक सुरक्षा जाँच गरिएको थियो । जेनजी आन्दोलनको क्रममा सुरक्षा जाँच गर्ने उपकरणहरू जलाइएपछि बैठक बस्नुअघि तालिम प्राप्त कुकुरबाट सुरक्षा जाँच गर्ने गरेको प्रदेश सभा सचिवालयका सुरक्षा इन्चार्ज प्रहरी निरीक्षक विक्रम शाहले बताए । सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेको हुन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम सात दलको गठबन्धनबाट गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत नपाउने स्थिति बनेपछि कात्तिक २२ गते प्रदेश सभाबाट राजीनामा घोषणा गरेका थिए । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई कात्तिक २४ गते मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । अस्वस्थ भएर उपचारका लागि काठमाडौं जान्छु भनेर मधेश भवनबाट निस्किएकी भण्डारीले यादवलाई बर्दिवासको एक होटलमा कात्तिक २४ गते झिसमिसे बिहानीमा शपथ खुवाएपछि विवाद बढेको थियो । त्यसबाट असन्तुष्ट दलहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा मंसिर १५ गते परमादेश जारी गरेको थियो ।
















